
बढ्दो दुर्घटनाप्रति प्रशासन गम्भीर : बारामा ट्राफिक सचेतना सप्ताह सुरु
बारा, ०३ असार
बारा जिल्लामा बढ्दो सवारी दुर्घटनाप्रति जिल्ला प्रशासन कार्यालय गम्भीर बनेको छ । सडक सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बुधबारदेखि “ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३” सुरु गरेको हो ।
“सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरण” भन्ने मूल नारासहित सुरु गरिएको अभियानको उद्घाटन कलैयामा प्रभातफेरी कार्यक्रम गरी गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको विशेष चासो र समन्वय रहेको बताइएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको दुर्घटना नियन्त्रणका लागि प्रशासन, प्रहरी र सरोकारवाला निकायबीच सहकार्य बढाइएको सहभागीहरूले बताएका छन् । स्थानीयवासीले पनि प्रमुख जिल्ला अधिकारीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर सक्रियता देखाएको प्रतिक्रिया दिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै बारा जिल्लामा १ हजार १ सय १४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने १८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दिपक के.सी.ले दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए । उनका अनुसार सप्ताहव्यापी अभियान अन्तर्गत विद्यालय, बजार क्षेत्र, टोल तथा समुदायमा पुगेर ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसैगरी चालक, सहचालक तथा यातायात व्यवसायीलाई सुरक्षित सवारी सञ्चालन, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत विषयमा जानकारी गराइने उनले बताए ।
ट्राफिक प्रहरीका अनुसार तीव्र गति, लापरवाहीपूर्वक सवारी सञ्चालन, ट्राफिक नियम उल्लंघन तथा चालकको असावधानी दुर्घटनाका मुख्य कारण बनेका छन् । त्यसैले अब जनचेतनामूलक कार्यक्रमसँगै ट्राफिक नियम कार्यान्वयनलाई थप कडाइ गरिने जनाइएको छ ।
सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणका लागि प्रशासनको सक्रियता सकारात्मक भएको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।



