राष्ट्रियसमाचार

हरिबोधनी एकादशी तुलसी र शालिग्रामको विवाह गरी सम्पन्न 

कलैया , १६ कार्तिक 

हरिबोधनी एकादशी शनिबार तुलसी र शालिग्रामको विवाह गरी सम्पन्न भएको छ। कार्तिक शुक्ल एकादशीका दिन परेको हरिबोधनी एकादशी बारा सहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइएको छ। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा सुत्नुभएका र कार्तिक शुक्ल एकादशीको दिन जाग्रत हुने विश्वास रहँदा उक्त एकादशीलाई हरिबोधनी वा प्रवोधिनी एकादशी भनिन्छ।

चार महिनासम्म तुलसीको व्रत गरी आराधना गर्दै आएका भक्तजनले शनिबार तुलसी र भगवान् शालिग्राम (विष्णु)को विवाह गरी विशेष पूजा आराधना गरी मनाएका छन्। घरघरमा रोपिएको तुलसीको मठ गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजावट गरी विधिपूर्वक विवाह संस्कार सम्पन्न गरिएको छ। तुलसी विष्णु प्रिया भएकाले शालिग्रामसँग विवाह गर्ने परम्परा शनिबार समेत सम्पन्न भएको छ। 

कात्तिक महिनाभर तुलसीमा देवदेवीको वास हुने धार्मिक विश्वास रहँदै आएको छ। गरुड पुराणका अनुसार भगवान् विष्णुलाई एक तुलसीपत्र अर्पण गर्दा दश हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुन्छ। त्यसैले शनिबार “गोविन्द उठ्नुस्, तपाईँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्टा र ढोल बजाएर विष्णुलाई जगाउने प्रयास गरीएको छ।

हरिबोधिनी एकादशी तथा तुलसी विवाहले नेपाली र भारतीय सनातन संस्कृतिमा गहिरो समेत प्रभाव पारेको छ। सामाजिक पुनर्मिलन– चाडपर्वहरू समापन हुने क्रममा यो पर्वले परिवार र समाजलाई एक ठाउँमा ल्याएर खुसी बाँड्ने अवसर प्रदान गर्छ। वैवाहिक जीवनको आदर्श– तुलसी विवाहले पतिव्रता धर्म, प्रेम र समर्पणको आदर्श प्रस्तुत गर्छ। विवाहित महिलाहरूले सुखी दाम्पत्य जीवनको कामना गर्छन् भने अविवाहितहरूले सुयोग्य वर प्राप्तिको कामना गर्छन्। प्रकृति पूजा– तुलसीको पूजाले वनस्पति र प्रकृतिको संरक्षण तथा सम्मान गर्ने सन्देश दिएको छ। पवित्रता र शुद्धता– चार महिनासम्म रोकिएका शुभकार्यहरू यस दिनबाट सुरु हुने हुँदा यसलाई पवित्रता र नयाँ सुरुवातको प्रतीकका रूपमा लिइन्छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button