मधेशसमाचार

प्रभु साहको घरदैलोमा जनसमर्थन खुम्चिँदै, र्‍यालीमा बालबालिका प्रयोग गरी आचारसंहिताको धज्जी

माघ २५ रौतहट

जिल्लाको क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य आम जनता पार्टीका राष्ट्रीय अध्यक्ष तथा उम्मेदवार प्रभु साहको पछिल्लो चुनावी गतिविधिमा जनसमर्थन कमजोर देखिन थालेको छ। फतुवा विजयपुर नगरपालिकाको बैरगनिया, घुसुकपुर र गम्हरिया लगायतका क्षेत्रमा सञ्चालित घरदैलो कार्यक्रममा मतदाताको उत्साहजनक उपस्थिति नहुँदा साहको अभियान खल्लो बन्दै गएको स्थानीय बताउँछन्।

कुनै समय जिल्लामा बलियो पकड राख्ने नेताका रूपमा चिनिएका साहको साथमा अहिले युवा, बुद्धिजीवी र निष्ठावान् राजनीतिक कार्यकर्ताहरूको अभाव खट्किन थालेको छ। “पहिलेका चुनावमा जस्तो भिँड र कार्यकर्ताको सक्रियता अहिले देखिएको छैन,” एक स्थानीयले भने, वास्तविक राजनीतिकर्मीहरू उनको अभियानबाट टाढिँदै गएका छन्।

जनसहभागिता न्यून देखिएपछि साहको चुनावी र्‍याली र प्रचारप्रसारमा बालबालिकालाई अगाडि सारेर भिड देखाउने प्रयास गरिएको पाइएको हो । निर्वाचन आचारसंहिता २०८२ ले बालबालिकालाई निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि, जुलुस वा प्रचारप्रसारमा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको हो । तर साहको घरदैलो कार्यक्रममा नाबालक बालबालिकाहरूको प्रयोग भइरहेको दृश्यले निर्वाचन आयोग र प्रशासनको ध्यानाकर्षण गराएको छ।

राजनीतिक स्वार्थका लागि बालबालिकाको भविष्य र अधिकारमाथि खेलबाड गर्दै उनलाई चुनावी औजार बनाउनु कानुनी र नैतिक दुवै दृष्टिले गलत मानिन्छ। ‘बालबालिका शान्ति क्षेत्र’ को अवधारणा विपरीत भइरहेका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छ वातावरणमाथि समेत प्रश्न उठाएको छ।

साहको अभियानमा देखिएको यो प्रवृत्तिले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै स्थानीय स्तरमा चर्को विरोध सुरु भएको हो । निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय र स्थानीय प्रशासनले यस विषयमा तत्काल स्थलगत अनुगमन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग स्थानीय नागरिक समाजले गरेको छ।

निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्न गरिने यस्ता शक्ति प्रदर्शन र बालबालिकाको दुरुपयोगले लोकतान्त्रिक मूल्य–मान्यताको उपहास गरेको भन्दै सर्वसाधारणले समेत आपत्ति जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button