मधेशसमाचार

ब्राह्मण समाज नेपाल बारामा २५ सदस्यीय तदर्थ समिति गठन

बारा, ३० फागुन

ब्राह्मण समाज नेपाल बाराको जिल्ला अधिवेशन सम्पन्न गराउने उद्देश्यले शनिबार आयोजित जिल्ला सभा समारोहबाट अनिल कुमार पाण्डेयको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। लामो समयदेखि संगठन गठन भए पनि जिल्ला अधिवेशन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सभा समारोहमार्फत तदर्थ समिति गठन गरिएको हो।

गठित तदर्थ समितिको उपाध्यक्षमा राजेश तिवारी र धिरेन्द्र तिवारी चयन भएका छन्। सचिवमा प्रद्युम्न दुबे, सहसचिवमा दिलिप शुक्ला तथा कोषाध्यक्षमा आशुतोष पाण्डेय चयन भएका छन्। त्यस्तै सदस्यहरूमा संजय तिवारी, जटाशंकर मिश्र, सुजित पाण्डेय, शिवशंकर मिश्र, आनन्द तिवारी लगायतलाई समेट्दै २५ सदस्यीय समिति बनाइएको जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष अनिल कुमार पाण्डेयको नेतृत्वमा गठन भएको तदर्थ समितिले अबको ६ महिनाभित्र बाराका सबै स्थानीय तहमा पालिका स्तरीय ब्राह्मण समाज नेपाल गठन गरी जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको छ। तोकिएको अवधिभित्र अधिवेशन सम्पन्न हुन नसके एक पटकका लागि थप ६ महिनासम्म म्याद थप गर्न सकिने जानकारी कार्यक्रमका प्रमुख अतिथि तथा ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश प्रमुख देवनाथ उपाध्यायले दिएका छन्।

उनले समाजलाई जिल्लाभरि सुदृढ, संगठित र सक्रिय बनाउँदै स्थानीय तहसम्म संरचना विस्तार गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए। उनले तदर्थ समितिलाई समयमै पालिका समिति गठन गर्दै जिल्ला अधिवेशन सम्पन्न गर्न सुझावसमेत दिएका थिए।

ब्राह्मण समाज नेपाल बाराका कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय संस्थापक सचिव अरुण दुबे, केन्द्रीय सचिव प्रेमलाल पाण्डेय, केन्द्रीय सह–कोषाध्यक्ष रामबिहारी पाण्डेय, ज्योतिष परिषद् नेपाल मधेश प्रदेश अध्यक्ष ज्ञानेश्वर तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले ब्राह्मण समाजलाई संस्थागत रूपमा बलियो बनाउन एकता, सक्रियता र संगठन विस्तार अपरिहार्य रहेको धारणा राखेका थिए।

उक्त कार्यक्रमले ब्राह्मण समाज नेपाल बारालाई नयाँ नेतृत्वसहित थप सक्रिय र व्यवस्थित बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन्। जिल्लास्तरको अधिवेशन लामो समयदेखि हुन नसकेको अवस्थामा तदर्थ समिति गठनलाई संगठन सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button