
बारा, २८ जेठ
बाराको अमलेखगञ्ज क्षेत्रमा प्रहरीले बिलबिजक तथा वनस्पति क्वारेन्टाइन प्रमाणपत्रविहीन ठूलो परिमाणको आँपसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। नियमित सुरक्षा जाँचका क्रममा आवश्यक कागजात नभेटिएपछि आँप, सवारीसाधन तथा चालकलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा खटिएको चेकिङ टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज क्षेत्रमा सिरहाबाट हेटौंडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ६७८४ नम्बरको पिकअप गाडी रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीमा ढुवानी गरिँदै गरेको १०६ क्यारेट अर्थात् करिब २ हजार ६५० किलोग्राम आँपका लागि आवश्यक बिलबिजक तथा वनस्पति क्वारेन्टाइनसम्बन्धी कागजात प्रस्तुत गर्न नसकिएको प्रहरीले जनाएको छ। त्यसपछि उक्त आँप नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बरामद गरिएको आँपको अनुमानित मूल्य करिब २ लाख ६५ हजार रुपैयाँ रहेको छ। त्यस्तै, पिकअप गाडीको मूल्य करिब १७ लाख रुपैयाँ आँकलन गरिएको छ। यसरी बरामद मालसामान र सवारीसाधनको कुल मूल्य १९ लाख ६५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न पिकअप चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ निवासी २६ वर्षीय विवेक लोप्चनलाई समेत नियन्त्रणमा लिइएको छ। बरामद आँप, पिकअप गाडी तथा चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।
प्रहरीले कृषि उपज तथा खाद्यवस्तुको ढुवानी गर्दा आवश्यक कागजात अनिवार्य रूपमा साथमा राख्न तथा कानुनी प्रक्रिया पूरा गर्न व्यवसायी र ढुवानीकर्तालाई आग्रह गरेको छ। पछिल्लो समय राजमार्ग क्षेत्रमा चेकजाँचलाई थप प्रभावकारी बनाइएकाले अवैध तथा कागजातविहीन ढुवानी नियन्त्रणमा सहयोग पुगेको प्रहरीको भनाइ छ।



