मधेशसमाचार

रौतहटमा काठ र अवैध भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा तस्कर फरार

रौतहट, २८ जेठ

​ जिल्लाका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अवैध सालको काठ र लाखौँ मूल्य बराबरको भन्सार छलीका कपडाहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका सुरक्षा पोस्टहरूले सक्रियता बढाएसँगै ती अवैध सामानहरू नियन्त्रणमा लिन सफलता मिलेको हो।

​जिल्लाको गुजरा नगरपालिका वडा नम्बर २ चोचास्थित झाडीमा लुकाई-छिपाई राखिएको अवस्थामा २ थान सालको गोलाई (गोलिया) काठ प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी रंगपुर रौतहटबाट प्रहरी सहायक निरीक्षक महमद राहत हुसेन गदीको कमाण्डमा खटिएको विशेष गस्ती टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो।

​बरामद गरिएको काठ करिब १५ क्युबिक फिट रहेको र त्यसको अनुमानित बजार मूल्य तीस हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी रंगपुरबाट करिब ४ किलोमिटर उत्तर-पश्चिम दूरीमा रहेको उक्त स्थानबाट बरामद गरिएको काठलाई आवश्यक कानुनी प्रक्रियाका लागि सब-डिभिजन वन कार्यालय चोचासँग समन्वय गरी जिम्मा लगाइएको छ। वन तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाए ।

​यसैगरी भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा लाखौँ मूल्यको लत्ताकपडा प्रहरीले बरामद गरेको छ। गौर नगरपालिका वडा नम्बर ८ स्थित हनुमान चोकमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त अवैध सामान नियन्त्रणमा लिएको हो।

​अस्थायी प्रहरी पोस्ट बसपार्कबाट करिब ३ किलोमिटर पूर्व पर्ने उक्त क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको करिब दुई लाख रुपैयाँ अनुमानित मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरिएको छ। प्रहरी टोलीलाई देख्नासाथ सामान बोक्ने मानिसहरू सामान छाडेर फरार भएका थिए।

​बरामद गरिएका कपडाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय  रौतहटमा पठाइएको छ भने फरार रहेका सामान धनी तथा तस्करहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाए । पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि तस्करीका सामानहरू बरामद हुने क्रम बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button