मधेशसमाचार

गौर आँखा अस्पतालको महाअभियान एकैदिन दुई स्थानमा वृहत् कार्यक्रम ४६ जनामा मोतियाबिन्दु फेला

​रौतहट, २८ जेठ

​नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालको नमुना महाअभियान अन्तर्गत बुधबार एकैदिन दुई छुट्टाछुट्टै स्थानमा बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी वृहत् आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। जनमुखी सेवा प्रवाहलाई केन्द्रमा राखेर सञ्चालित यस अभियान अन्तर्गत ईशनाथ नगरपालिका र गौर नगरपालिकामा सेवा प्रदान गरिएको हो।

​सामाजिक संस्था माण्डवीको विशेष पहलमा ईशनाथ नगरपालिका–१ औरैया स्थित पुरानो नगरपालिका भवनमा ज्येष्ठ नागरिक लक्षित विशेष लक्षित विशेष आँखा शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमा १७८ जना ज्येष्ठ नागरिक तथा सर्वसाधारणको विशेषज्ञ परामर्शसहित आँखा परीक्षण गरिएको छ। परीक्षण गराएकामध्ये १३८ जनालाई निःशुल्क औषधि वितरण गरिएको अस्पताल प्रशासनले जनाए ।

​शिविरमा परीक्षणका क्रममा ४६ जनामा लेन्स प्रत्यारोपण गर्नुपर्ने गरी मोतियाबिन्दुको समस्या फेला परेको छ। ती सबै बिरामीहरूलाई बिहीबार गौर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिने जनाए ।

​यसैगरी गौर नगरपालिका वडा नम्बर ५ स्थित आई.बी.ए. स्कुलमा बालबालिकालाई लक्षित गरी आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तथा परीक्षण कार्यक्रम गरिएको छ। कार्यक्रमको पहिलो दिन बुधबार १२५ जना विद्यार्थीहरूको आँखा परीक्षण गर्दा १८ जना करिब १६ प्रतिशतमा दृष्टिदोषको समस्या फेला परेको छ।

​दृष्टिदोष देखिएका ती विद्यार्थीहरूलाई आगामी शनिबार गौर आँखा अस्पतालमा थप विस्तृत परीक्षण गरी निःशुल्क चस्मा वितरण गरिने कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले जानकारी दिए।

​​अभियानलाई थप प्रभावकारी र व्यापक बनाउने उद्देश्यका साथ आगामी जेठ ३० गते शनिबार रौतहटको यमुनामाई गाउँपालिकास्थित श्री जनता माध्यमिक विद्यालय, सरुअठामा अर्को वृहत् आँखा शिविर आयोजना गरिने भएको छ। उक्त शिविर आर डीसी गौरको विशेष पहलमा संञ्चालन हुन लागेको संयोजक पाण्डेयले बताए।

​बुधबारका कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्न गौर आँखा अस्पतालकी नेत्र अधिकृत बिनिता केशरीको नेतृत्वमा ११ सदस्यीय प्राविधिक टोली खटिएको थियो। टोलीको सक्रियता र उत्कृष्ट व्यवस्थापनका कारण दुवै कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको अस्पतालले जनाए ।

​अस्पतालले हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी — आँखा सेवामा सबैको साझेदारी भन्ने मूल नाराका साथ जिल्लाभर यो महाअभियान चलाइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button