मधेशसमाचार

असार २४ पछि भुक्तानी निकासा बन्द गरिने, कोष तथा लेखा नियन्त्रक कार्यालय बाराको निर्देशन

कलैया, ०४ असार
आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन लागेसँगै कोष तथा लेखा नियन्त्रक कार्यालय बारा, कलैयाले सरकारी कार्यालय तथा स्थानीय तहलाई समयमै भुक्तानी फर्छ्यौट, हिसाब मिलान र वित्तीय अनुशासन कायम गर्न कडा निर्देशन दिएको छ। कार्यालयले मंगलबार पत्र जारी गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै भुक्तानी निकासा बन्द गरिने जनाएको हो।
महालेखा नियन्त्रक कार्यालयको पत्राचारअनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जिल्लाका सबै सरकारी कार्यालय तथा स्थानीय तहलाई असार २४ गतेपछि भुक्तानी निकासा बन्द हुने जानकारी गराउँदै आवश्यक भुक्तानी असार २० गतेभित्रै सम्पन्न गर्न अनुरोध गरेको छ।
कार्यालयले आर्थिक वर्षको अन्तिम समयमा मात्र हतारमा भुक्तानी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। विशेष गरी असार मसान्तमा अत्यधिक खर्च गर्ने र हतारमा योजनाको रकम फर्छ्योट गर्ने प्रवृत्तिका कारण अनियमितता बढ्ने तथा वित्तीय अनुशासन कमजोर हुने भन्दै समयमै भुक्तानी तथा हिसाब मिलान गर्न निर्देशन दिइएको हो।
जारी पत्रमा धरौटी, विविध तथा अन्य कोषमा आम्दानी बाँकी रहेका रकम, पेश्की फिर्ता रकम तथा बैंक दाखिला भएर पनि प्रणालीमा बाँकी देखिएका रकम अनिवार्य रूपमा असार मसान्तभित्र CGAS/TSA प्रणालीमा लेखाङ्कन गरी हिसाब मिलान गर्न भनिएको छ।
त्यसैगरी सशर्त, समपूरक तथा विशेष अनुदानअन्तर्गत प्राप्त रकम आर्थिक वर्षभित्र खर्च नभएमा अनिवार्य रूपमा फिर्ता दाखिला गर्नुपर्ने व्यवस्था पनि स्मरण गराइएको छ। सामाजिक सुरक्षा भत्ता वापतको रकम भने असार १५ गतेभित्र पूर्ण रूपमा वितरण गरिसक्नुपर्ने उल्लेख गरिएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीद्वारा हस्ताक्षरित पत्रमा आर्थिक अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गर्न सम्बन्धित सबै निकायलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
हरेक वर्ष आर्थिक वर्षको अन्तिम समयमा हुने अत्यधिक खर्च, हतारमा योजना सम्पन्न गर्ने प्रवृत्ति तथा भुक्तानी व्यवस्थापनमा देखिने कमजोरीप्रति आलोचना भइरहेका बेला यसपटक समयमै नियन्त्रण र वित्तीय अनुशासन कायम गर्न प्रशासनिक निकाय सक्रिय देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button