मधेशसमाचार

गुजरा नगरपालिकामा १५ शय्याको नगर अस्पताल उद्घाटन

रूपेश यादव
 रौतहट, २६ भदौ
रौतहटको गुजरा नगरपालिकामा १५ शय्याको नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख सन्तलाल चौधरी र उपप्रमुख रत्न लामाले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरेका हुन्।
नगर अस्पताल सञ्चालनमा आएसँगै गुजरा नगरपालिकाका स्थानीय बासिन्दाले आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा आफ्नै पालिकाभित्रबाट पाउने भएका छन्। यसअघि सामान्य स्वास्थ्य परीक्षण तथा उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेकाले अस्पताल सञ्चालनपछि स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव डमरु दहालले नगर अस्पतालबाट स्थानीय नागरिकलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए। उनले विशेषगरी गरिब, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई अस्पतालबाटै सेवा लिन आग्रह गरे।
नगर प्रमुख चौधरीले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई नियमित रूपमा समयमै उपस्थित भई सेवाग्राहीलाई गुणस्तरीय र सन्तोषजनक सेवा प्रदान गर्न निर्देशन दिए। नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सेवाग्राहीप्रति जिम्मेवार र संवेदनशील भएर काम गर्न उनले आग्रह गरे।
अस्पतालमा हाल उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको प्रयोग गरी सेवा सुरु गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए। अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक थप स्वास्थ्य सामग्री तथा उपकरणसमेत व्यवस्थापन गरिने उनले बताए।
निर्माण कार्य सम्पन्न भए पनि औपचारिक उद्घाटन नहुँदा सेवाग्राही उपचारका लागि आउन हिच्किचाउने अवस्था रहेकाले आकस्मिक रूपमा उद्घाटन गरी सेवा सञ्चालनमा ल्याइएको कार्यक्रम सञ्चालक स्वास्थ्यकर्मी विनोदप्रसाद जयसवालले बताए।
नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा पाउने भएका छन्। अस्पतालको प्रभावकारी सञ्चालनसँगै नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच थप विस्तार हुने स्वास्थ्य संयोजक भुपेन्द्र चौधरीले बताए।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button