मधेशसमाचार

घुमुवा प्रहरीको जालो, तस्करी नियन्त्रण कागजमै सीमित?

बारा , २६ भदौ
बाराका सीमावर्ती क्षेत्रदेखि राजमार्गसम्मका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयमा घुमुवा प्रहरी परिचालन गरिएको भए पनि चोरी–तस्करी नियन्त्रणमा अपेक्षित परिणाम देखिन नसकेको भन्दै प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, चोरी–तस्करी रोकथाम तथा प्रहरी युनिटलाई सूचना संकलनमा सहयोग गर्ने उद्देश्यले घुमुवा प्रहरी परिचालन गर्ने गरिएको प्रहरीको दाबी रहँदै आएको छ। तर, घुमुवा प्रहरीको बाक्लो परिचालनका बाबजुद तस्करीका गतिविधि नियन्त्रणमा नआएको भन्दै समय–समयमा सञ्चारमाध्यममा समाचार सार्वजनिक हुँदै आएका छन्।
प्राप्त विवरणअनुसार इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा बृजकिशोर यादव, प्रहरी चौकी पथलैयामा रामकुमार यादव, इलाका प्रहरी कार्यालय सिमरामा अनिरुद्ध यादव, इलाका प्रहरी कार्यालय जितपुरमा अर्जुन सहनी, इलाका प्रहरी कार्यालय प्रसौनीमा दिलिप साह, प्रहरी चौकी मुसहर्वामा सन्तोष पटेल तथा इलाका प्रहरी कार्यालय छतवामा रुपन पण्डितलगायतका प्रहरीलाई घुमुवा जिम्मेवारीमा परिचालन गरिएको बताइएको छ।
घुमुवा प्रहरीको जिम्मेवारी सूचना संकलन र अवैध गतिविधि नियन्त्रणमा केन्द्रित हुनुपर्ने भए पनि त्यसको प्रभावकारितामाथि नै प्रश्न उठ्नुले प्रहरी नेतृत्वको अनुगमन र कमान्ड प्रणाली कमजोर रहेको संकेत गर्छ। आखिर घुमुवा प्रहरी परिचालन गरिएको हो भने सीमाबाट हुने चोरी–तस्करी किन नियन्त्रण हुन सकेको छैन? यसको जवाफ प्रहरी नेतृत्वले दिनुपर्ने देखिन्छ।
अझ रोचक पक्ष त के छ भने, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा प्रहरी प्रधान कार्यालय काठमाडौंले विगतमा विभिन्न समयमा घुमुवा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै कारबाहीसमेत गर्ने गरेको बताइन्छ। तर, कारबाहीको चर्चा सेलाउन नपाउँदै फेरि उही प्रकृतिको घुमुवा परिचालन निरन्तर हुनु आफैंमा गम्भीर विषय बनेको छ।
यदि घुमुवा प्रहरी परिचालन प्रभावकारी छ भने तस्करी नियन्त्रणमा त्यसको ठोस परिणाम सार्वजनिक गर्न प्रहरी नेतृत्व किन हिच्किचाइरहेको छ? र यदि प्रभावकारी छैन भने घुमुवाको नाममा प्रहरी जनशक्ति परिचालन गरेर के उपलब्धि हासिल भइरहेको छ?
सीमावर्ती तथा राजमार्ग क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरी परिचालन आवश्यक भए पनि त्यसको पारदर्शिता, जिम्मेवारी र परिणामको नियमित समीक्षा हुनुपर्ने सरोकारवालाको भनाइ छ। प्रहरीकै उपस्थितिमा तस्करी नियन्त्रण हुन नसकेको अवस्था देखिएमा घुमुवा प्रहरी परिचालनको औचित्य, उनीहरूको गतिविधि तथा सम्बन्धित प्रहरी युनिटका नेतृत्वको भूमिकासमेत छानबिनको दायरामा ल्याउनुपर्ने आवश्यकता देखिन्छ।
बारामा घुमुवा प्रहरी परिचालनको विषय अब सामान्य प्रहरी व्यवस्थापनको विषय मात्र नभई चोरी–तस्करी नियन्त्रणको नाममा राज्यको जनशक्ति कहाँ र कसरी प्रयोग भइरहेको छ भन्ने जवाफदेहिताको प्रश्न बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button