
जिराभवानीमा बाघको आक्रमणबाट वृद्धको मृत्यु
हरि किशोर शर्मा
पर्सा , २६ भदौ
पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
जिराभवानी गाउँपालिका–२ काठमाडौं टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारूको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सम्मुन्नत अधिकारीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार थारू बुधबार बिहान करिब १० बजे घरबाट घाँस काट्न जंगलतर्फ गएका थिए। अबेरसम्म घर नफर्किएपछि परिवार तथा आफन्तले खोजी सुरु गरेका थिए।
खोजी गर्ने क्रममा बिहीबार बिहान सब–डिभिजन वन कार्यालय बसन्तपुरबाट करिब ५०० मिटर भित्र जंगलमा बाघले आक्रमण गरी मारेको अवस्थामा थारूको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। जंगल क्षेत्रमा बाघको गतिविधि बढेकाले स्थानीयलाई थप सतर्क रहन आग्रह गरिएको छ।
मृतक थारूको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



