मधेशसमाचार

सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता हुँदैन: प्रजिअ लक्ष्मीप्रसाद पौडेल

सत्येन्द्र प्रताप सिंह
रौतहट , २६ भदौ
​जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्व सम्हालेका नवनियुक्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जिल्लामा सुशासन कायम गर्ने पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्ने तथा भ्रष्टाचार नियन्त्रणका सवालमा कुनै पनि किसिमको सम्झौता नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
​जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा बिहीबार सदरमुकाम गौरमा आयोजित स्थानीय सञ्चारकर्मीसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आम नागरिकलाई सहज, द्रुत र पारदर्शी ढङ्गले सेवा उपलब्ध गराउनु नै आफ्नो पहिलो र मुख्य प्राथमिकता रहने बताए।
​निजामती सेवामा प्रवेश गरेदेखि नै आफूले सुशासन, उत्तरदायित्व र पारदर्शितालाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको उल्लेख गर्दै प्रजिअ पौडेलले रौतहट जिल्लामा पनि सोही कार्यशैलीलाई पूर्ण निष्ठाका साथ निरन्तरता दिने उल्लेख गरे। सरकारी कार्यालयहरूबाट प्रदान गरिने सेवामा हुने अनावश्यक ढिलासुस्ती, सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति, बिचौलियाको अनुचित प्रभाव तथा अनियमिततालाई पूर्ण रूपमा निरुत्साहित गरिने उनको दृढ भनाइ थियो।
​सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका विषयमा प्रशासनले कसैसँग कुनै सम्झौता गर्दैन परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले भने कानुनको निष्पक्ष पालना गराउनु र नागरिकलाई प्रभावकारी एवं झन्झटरहित सेवा दिनु नै शान्ति सुरक्षा र प्रशासनिक निकायको प्रमुख दायित्व हो।
​यसैगरी उनले जिल्लाको समग्र शान्ति-सुरक्षाको अवस्थालाई सुदृढ बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने गैरकानुनी गतिविधि तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रशासनले पूर्ण कडाइका साथ कदम चाल्ने स्पष्ट पारे । अपराध तथा कानुन विपरीतका गतिविधिमा संलग्न जो-कोही भए पनि उनीहरूलाई बिना कुनै दबाब कानुनको दायरामा ल्याएर छाड्ने चेतावनी समेत उनले दिए।
​कार्यक्रममा सहभागी स्थानीय सञ्चारकर्मीले जिल्लाको शान्ति-सुरक्षा, सीमा व्यवस्थापन सार्वजनिक सेवा प्रवाहमा देखिने चुनौती, विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती, बिचौलियाको सल्बलाहट तथा सर्वसाधारणले भोग्नुपरेका विविध व्यावहारिक समस्याका विषयमा ध्यानाकर्षण गराएका थिए।
​पत्रकारका जिज्ञासा र सुझावलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय प्रशासन र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप कसिलो र प्रभावकारी बनाइने बताए। जिल्लाका वास्तविक समस्या पहिचान गर्न र नागरिकका गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न आफू सधैँ सकारात्मक रहेको बताउँदै उनले प्रशासनिक कामकारबाहीलाई पारदर्शी र जनमुखी बनाउन मिडिया क्षेत्रबाट रचनात्मक सहयोग, वस्तुनिष्ठ सूचना र निरन्तर अनुगमनको अपेक्षा व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button