मधेशसमाचार

सुमोको ठक्करबाट अज्ञात पैदलयात्रीको मृत्यु, पहिचानका लागि प्रहरीको आग्रह

बारा ,२६ भदौ

कलैया–वीरगन्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–२३ मा सुमोको ठक्करबाट अन्दाजी २२/२३ वर्षीय एक पुरुष पैदलयात्रीको मृत्यु भएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
बुधबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिक वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले सडकमा हिँडिरहेका ती पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएकोमा उपचारकै क्रममा राति १०ः३५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट ६ इन्च, पातलो शरीर, दायाँ हातमा बाला लगाएको तथा कालो भेस्ट र नीलो पाइन्ट लगाएको अवस्था थियो।
मृतकलाई चिन्नुहुने आफन्त, परिवारजन वा अन्य व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी पहिचान खुलाउन सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button