
कलैया, २६ भदौ
बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगन्ज सडकखण्डमा सुमोको ठक्करबाट मृत्यु भएका युवकको पहिचान खुलेको छ।
बुधबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल पठाइएकोमा राति करिब १०ः३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान तत्काल खुल्न नसकेपछि प्रहरीले हुलियासहित पहिचानका लागि सार्वजनिक सूचना जारी गरेको थियो।
बिहीबार बिहान करिब ९ बजे मृतकका बुबा प्रसौनी गाउँपालिका–५ प्रसौका बस्ने सुवास कुमार साह एलएस न्यूरो अस्पताल पुगेपछि मृतक आफ्नै छोरा १९ वर्षीय आलोक कुमार साह रहेको पुष्टि भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न सुमो र चालक प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



