
सत्येन्द्र प्रताप सिंह
रौतहट, २६ भदौ
रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि रौतहटबाट राहत सामग्री पठाइएको छ। नेपाल मुस्लिम शान्ति समाज रौतहट शाखाको विशेष पहलमा संकलन गरिएको खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोगसहितको राहत सामग्री बिहीबार रसुवातर्फ पठाइएको हो।
राहत संकलनका लागि समाजले रौतहटका विभिन्न स्थानमा सञ्चालन गरेका अभियान तथा स्टलमार्फत स्थानीयवासीबाट सहयोग जुटाएको थियो। संकलित खाद्यान्न, लत्ताकपडा र अन्य सामग्रीलाई प्याकिङ गरी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर वितरण गर्ने व्यवस्था मिलाइएको नेपाल मुस्लिम शान्ति समाज रौतहट शाखाका अध्यक्ष कारी समिअख्तरले जानकारी दिए।
समाजका दोहा कतार शाखा अध्यक्ष शेष इफ्तखारका अनुसार गौर नगरपालिका–६ सबगढाबाट मात्रै १ लाख २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। त्यस्तै सिर्सियाबाट १२ हजार ५ सय ५० रुपैयाँ, परोहा नगरपालिका–३ तेजापाकडबाट १४ हजार रुपैयाँ र देवाही गोनाही नगरपालिका–१ बाट ३ हजार ५ सय रुपैयाँ संकलन भएको छ। राजपुर नगरपालिका–३ डमार पोखरीयाबाट पाँच बोरा लत्ताकपडा पनि प्राप्त भएको उनले बताए।
यसका अतिरिक्त विभिन्न प्रकारका खाद्यान्न सामग्री तथा तयारी राहत प्याकेजसमेत संकलन गरी पठाइएको समाजले जनाएको छ। राहत सामग्री बोकेको सवारीसाधनसहित संस्थाका प्रतिनिधिहरूको टोली बिहीबार नै रसुवातर्फ प्रस्थान गरेको छ।
राहत वितरण तथा व्यवस्थापनका लागि रौतहट शाखाका फैयाज फैजी, शेख रुहुल्लाह, रेयाज खुरसीद, इस्तेखार आलम, शेख जुनैद र शेख मुरतुजा टोलीमा सहभागी छन्। त्यस्तै ईशनाथ नगरपालिकाका प्रमुख पदका उम्मेदवार अमन्ने आलम, महोत्तरी शाखाका आलम राइन, रौतहट शाखाका कार्यवाहक अध्यक्ष अलि असगर, मेराज आलम र इमरान आलम पनि टोलीमा सहभागी रहेको शाखा कार्यालय राजपुर नगरपालिका पानी टंकीले जनाएको छ।
विपद्का बेला राहत तथा मानवीय सहयोगका लागि मधेसबाट पहाडी क्षेत्रका प्रभावित नागरिकसम्म पुगेर सहयोग पुर्याउने अभियानले सामाजिक सद्भाव, एकता र मानवीय भ्रातृत्वको सकारात्मक सन्देश दिएको स्थानीय बुद्धिजीवीहरूले बताएका छन्।



