मधेशसमाचार

जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत गिरीद्वारा कार्यभार ग्रहण

हरिकिशोर शर्मा

पर्सा , ७ पौष

पर्साको जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ।

सामान्य प्रशासन मन्त्रालयको मंसिर २९ गतेको पत्रअनुसार कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीलाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको थियो। सोही सरुवा अनुसार जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको हो।

तर जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई कुनै पनि शर्तमा हाजिर हुन नदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो। अधिकृत गिरी हाजिर हुन आउने जानकारी पाएपछि अध्यक्ष चौधरीले गाउँपालिकाको कार्यालयका सम्पूर्ण कक्षको साँचो आफ्नो नियन्त्रणमा लिएको एक जना कार्यपालिका सदस्यले जानकारी दिएका छन्।

यसैबीच, गाउँपालिका उपाध्यक्ष रेखा चौधरीको नेतृत्वमा कार्यालयको “बी” ब्लकमा रहेका कक्षहरूको ताल्चा फोडी कृषि शाखाको कक्षलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बनाइएको थियो। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत गिरीलाई फूलमाला र खादा ओढाई स्वागत गरिएको थियो।

स्वागत कार्यक्रममा वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, लेखा तथा प्राविधिक शाखाका कर्मचारीहरू तथा विभिन्न वडाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घटनाक्रमले जिराभवानी गाउँपालिकामा प्रशासनिक सरुवालाई लिएर देखिएको आन्तरिक विवादलाई सार्वजनिक रूपमा उजागर गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button