मधेशसमाचार

लागुऔषध नियन्त्रण अभियानः पर्सामा ७,५०० गाँजा बोट नष्ट

हरिकिशोर शर्मा

पर्सा, ०८ पौष

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत पर्सा जिल्लामा अवैध रूपमा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले सोमबार उक्त कारबाही गरेको हो।

प्रहरीका अनुसार सोमबार बिहान करिब १२ बजे प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिई पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ हरैया स्थित भलुवाही खोलाको बगरमा करिब १ कठ्ठा र पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवा क्षेत्रमा करिब २.५ कठ्ठा गरी जम्मा ३.५ कठ्ठा जमिनमा लगाइएको अवैध गाँजा खेती फडानी गरिएको हो।

फडानीका क्रममा करिब ७ हजार ५ सय बोट अवैध गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ। फडानी गरिएका गाँजाका बोटहरू सोही स्थानमै नष्ट गरिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अवैध गाँजा खेती, ओसारपसार तथा कारोबारविरुद्ध यस्ता कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै, स्थानीयवासीलाई अवैध गतिविधिबारे सूचना दिन प्रहरीसँग सहकार्य गर्न आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button