मधेशसमाचार

चिसो बढेसँगै धमाधम विद्यालयहरू बन्द

कलैया, ०८ पौष

तराई–मधेश क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर बढेसँगै बारा जिल्लाका विभिन्न स्थानीय तहले धमाधम विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। बढ्दो जाडोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्थानीय तहहरूले सूचना जारी गरी सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विदा दिएका हुन्।

आईतबार परवानीपुर गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिएको जनाएका छन्।

त्यसैगरी सोमबार प्रसौनी गाउँपालिका र महागढीमाई नगरपालिकाले पनि ‘हिउँदे विदा सम्बन्धमा’ सूचना जारी गर्दै विद्यालय बन्द रहने निर्णय गरेका छन्। प्रसौनी गाउँपालिका , विश्रामपुर गाउँपालिका र महागढीमाई नगरपालिकाद्वारा जारी सूचनाअनुसार गाउँपालिका/ नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बढ्दो चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले वर्षे विदाबाट कट्टा हुने गरी मिति २०८२ पौष ८ गतेदेखि २०८२ पौष ११ गते (शुक्रबार) सम्म विद्यालयको पठन–पाठन बन्द रहने उल्लेख गरीएको छ।

साथै सूचनामा मिति २०८२ पौष १३ गते आईतबारका दिन तोकिएको समयमा विद्यालय नियमित रूपमा सञ्चालन हुने पनि उल्लेख गरिएको छ।

त्यस्तै देवताल गाउँपालिकाले मँगलबार र बुधबार गरी दुई दिन बिधालय बन्द गरेको छ।

स्थानीय तहहरूले चिसो अझै केही दिन कायमै रहने सम्भावना रहेको जनाउँदै अभिभावक तथा विद्यालय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button