मधेशसमाचार

बारा–३ मा त्रिकोणात्मक प्रतिस्पर्धा, मधेशवादी दल र रास्वपाबीच कडा टक्कर

कलैया , १९ फागुन

बारा–३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र आगामी निर्वाचनलाई लिएर चासोको केन्द्र बनेको छ। यस क्षेत्रमा दुई मधेशवादी दलका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

मधेशवादी धारका जनमत पार्टीबाट उम्मेदवार प्रमोद साह, जनता समाजवादी पार्टी (जसपा) बाट रामबाबु यादव तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द साह चुनावी मैदानमा मुख्य प्रतिस्पर्धीका रूपमा उभिएका छन्। स्थानीय राजनीतिक वृत्तमा यी तीनै उम्मेदवारको चर्चा व्यापक रूपमा भइरहेको छ।

निर्वाचन आयोगका अनुसार बारा–३ मा आगामी निर्वाचनका लागि ९ जना स्वतन्त्र उम्मेदवारसहित कुल २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारमध्ये जनमत पार्टीका प्रमोद साह, जसपाका रामबाबु यादव र रास्वपाका इन्जिनियर अरबिन्द साहलाई बलिया उम्मेदवारका रूपमा हेरिएको छ।

तीनै उम्मेदवार हाल बारा–३ का गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी अभियानमा व्यस्त छन्। घरदैलो कार्यक्रम, स्थानीय भेला, चोक–चौतारामा हुने छलफल र जनसंवादमार्फत उम्मेदवारहरूले आफ्ना एजेन्डा तथा प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्।

स्थानीय विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र मधेशका मुद्दाहरूलाई मुख्य एजेन्डा बनाउँदै उम्मेदवारहरू जनताको समर्थन जुटाउने प्रयासमा छन्। मतदाताहरू पनि यस पटकको निर्वाचनमा कसले क्षेत्रको प्रभावकारी प्रतिनिधित्व गर्न सक्छ भन्ने विषयमा चासोका साथ हेरिरहेका छन्।

फागुन २१ गते हुने निर्वाचनमा कसले बाजी मार्ला भन्ने विषयले बारा–३ को राजनीतिक माहोल थप तातेको छ। अन्तिम परिणाम आउन अझै केही समय बाँकी रहे पनि अहिलेको चुनावी गतिविधिले बारा–३ मा रोचक र प्रतिस्पर्धात्मक निर्वाचन हुने संकेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button