पर्सा १ (क) का मतदाताको विश्वास गुमाएका रहबर अँसारी बारा–४ मा उम्मेदवार, राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न

6

बारा , १९ माघ

पर्सा क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रहबर अँसारीको राजनीतिक यात्राले फेरि एकपटक गम्भीर प्रश्नहरू खडा गरेको छ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका अँसारी बारम्बार निर्वाचनमा पराजित हुँदै आएका नेता हुन्, जसले अन्ततः दल परिवर्तन गर्दै अर्कै जिल्लाबाट उम्मेदवारी दिएका छन्।

अँसारी २०७० सालको संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रको उम्मेदवार बनेका थिए। तर सो निर्वाचनमा उनी पराजित भएका थिए। त्यसपछि २०७४ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए पनि जनताबाट अनुमोदन पाउन सकेनन्। सोही वर्ष सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा पनि अँसारीले पराजय बेहोरे।

लामो समयसम्म लगातार पराजित हुँदै आएका अँसारी २०७९ सालको निर्वाचनमा भने सत्तारूढ गठबन्धनको सहयोगमा नेकपा (माओवादी केन्द्र) बाट पर्सा १ (क) प्रदेशसभा सदस्यमा निर्वाचित हुन सफल भए। गठबन्धनको बलमा जित हासिल गरेका अँसारीलाई मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवको मन्त्रिमण्डलमा उद्योग, पर्यटन तथा वन राज्यमन्त्री समेत बनाइएको थियो।

तर सरकार निर्माण र सञ्चालनकै क्रममा अँसारी स्वयं संलग्न रहेको राजनीतिक अभ्यासले नै उनको विश्वसनीयतामाथि प्रश्न उठायो। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने प्रदेशसभा बैठकमा “प्रदेश सरकारको नेतृत्व गर्ने नैतिक आधार कसैसँग छैन” भन्दै विश्वासको मत नदिने घोषणा गरे। उनले विरोध जनाउने शैलीस्वरूप आफ्नै अनुहारमा कालोमोसो दल्ने असामान्य कदम चालेका थिए।

सो घटनामा प्रदेशसभा सदस्य रहेका अँसारी आफैंले पनि आफू असक्षम भएको घोषणा गरेका थिए। जनताबाट निर्वाचित प्रतिनिधिले आफैंलाई असक्षम घोषणा गर्नु नेपाली राजनीतिक इतिहासमै दुर्लभ र गम्भीर विषय बनेको थियो। यसले पर्सा १ (क) का मतदाताहरूमा गहिरो निराशा पैदा गर्‍यो।

राजनीतिक अस्थिरता, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र आत्मस्वीकृत असक्षमताका कारण पर्साका जनताले अँसारीप्रति विश्वास गुमाउँदै गए। अन्ततः उनले माओवादी केन्द्र परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरे।

दल परिवर्तनमै सीमित नरही अँसारीले यसपटक फागुन २१ गते हुने निर्वाचनका लागि बारा–४ बाट उम्मेदवारी दर्ता गराएका छन्। पर्साबाट निर्वाचित नेता बारा जिल्लाबाट उम्मेदवार बन्नु आफैंमा विवादास्पद विषय बनेको छ। यसले पर्सावासीको भावनामाथि खेलवाड गरिएको आरोप पनि उठेको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्— “जसले आफू निर्वाचित भएको क्षेत्रका जनतालाई निराश बनायो, जसले आफैंलाई असक्षम घोषणा गर्‍यो, उसलाई अर्काे जिल्लाका जनताले कसरी विश्वास गर्ने ?” यही प्रश्न अहिले बारा–४ का मतदातामाझ तीव्र रूपमा उठ्न थालेको छ।

पर्सा १ (क) का जनताले अस्वीकार गरिसकेको नेतृत्वलाई बारा–४ ले स्वीकार गर्ला कि नगर्ला भन्ने विषयले चुनावी बहसलाई थप तातो बनाएको छ। निर्वाचन नजिकिँदै जाँदा रहबर अँसारीको उम्मेदवारी राजनीतिक नैतिकता, उत्तरदायित्व र जनप्रतिनिधिको भरोसामाथि गम्भीर बहसको केन्द्र बनेको छ।

Leave A Reply

Your email address will not be published.