
साजिर मन्सूर
बारा, ११ चैत
राष्ट्रिय किताबखाना (निजामती) अन्तर्गतको e-Pension सेवा देशभरका ७७ जिल्लामा विस्तार गर्ने क्रममा बारा जिल्लामा पनि औपचारिक रूपमा सुरु गरिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराबाट २०८२ चैत १० गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याइएको हो।
कार्यालयका कोष नियन्त्रक सुमित कुमार पटेलका अनुसार नयाँ प्रणालीमार्फत अवकाशप्राप्त निजामती कर्मचारीहरूको निबृत्तिभरण अधिकार पत्र (Pension Payment Order) तयार गर्ने कार्य, औषधि उपचार खर्च, सञ्चित बिदा, बिरामी बिदा लगायतका सुविधा निर्धारण तथा रकम यकिन गरी पत्र जारी गर्ने प्रक्रिया अब सहज रूपमा हुने भएको छ।
उनका अनुसार e-Pension प्रणाली लागू भएसँगै सेवाग्राहीले छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यस प्रणालीले कागजी प्रक्रियामा कमी ल्याई डिजिटल माध्यमबाट सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको उनले बताए।
कार्यालयले सेवाग्राहीलाई आवश्यक जानकारी लिएर सेवा लिन आग्रह गर्दै नयाँ प्रणालीले सेवा प्रवाहलाई अझ सरल, छिटो र गुणस्तरीय बनाउने जनाएको छ।



