मधेशसमाचार

किसानका पक्षमा सांसद चन्दन सिंहको आवाज : “किसान बलियो भए देश बलियो हुन्छ”

बारा, ०४ जेठ

चन्दन कुमार सिंहले किसानको समस्या समाधान बिना देशको अर्थतन्त्र र भविष्य दुवै सुदृढ हुन नसक्ने बताउनुभएको छ। सोमबार बसेको प्रतिनिधि सभा को बैठकमा बोल्दै बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद सिंहले कृषि क्षेत्रको वर्तमान अवस्था, किसानले भोगिरहेका समस्याहरू तथा राज्यको जिम्मेवारीबारे स्पष्ट धारणा राख्नुभएको हो।

सांसद सिंहले नेपाल कृषिप्रधान देश भए पनि किसान अझै मलखाद, उन्नत बिउ, सिंचाइ, कृषि विद्युत् तथा उत्पादनको उचित मूल्य जस्ता आधारभूत समस्याबाट पीडित रहेको उल्लेख गर्नुभयो। उहाँले किसानको मेहनत र पसिनाको सम्मान नगरी समृद्ध नेपाल निर्माण सम्भव नरहेको धारणा व्यक्त गर्नुभयो।

“कृषि नै हाम्रो देशको मुख्य आधार हो। किसान कमजोर भए देशको अर्थतन्त्र र भविष्य दुवै कमजोर हुन्छ,” सांसद सिंहले संसदमा बोल्दै भन्नुभयो, “किसान बलियो भए मात्रै देश बलियो हुन्छ।”

उहाँले समयमै मलखाद उपलब्ध गराउन नसक्नु, सिँचाइको अभाव, उत्पादन लागत बढ्दै जानु तथा बजारको अस्थिरताले किसान निराश बन्दै गएको बताउनुभयो। विशेषगरी तराई–मधेशका किसानहरू खेतीपातीको मुख्य समयमा मल अभाव झेल्न बाध्य भएको उल्लेख गर्दै उहाँले सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्नुभयो।

सांसद सिंहले कृषि उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले किसानमैत्री नीति ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले कृषि क्षेत्रलाई केवल नारामा सीमित नराखी व्यवहारिक रूपमा लगानी, प्राविधिक सहयोग तथा बजार व्यवस्थापनमा राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो।

कृषि विद्युत्को पहुँच विस्तार, आधुनिक सिंचाइ प्रणाली, सहुलियत कृषि ऋण तथा उत्पादनको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न सके किसानको जीवनस्तरमा उल्लेखनीय सुधार आउने उहाँको भनाइ थियो। साथै उहाँले युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक प्रविधिसहितको कृषि नीति आवश्यक रहेको धारणा राख्नुभयो।

सांसद चन्दन सिंहको संसदमा व्यक्त धारणा अहिले किसानका वास्तविक समस्यालाई मुखरित गर्ने सशक्त आवाजका रूपमा हेरिएको छ। किसानको पक्षमा स्पष्ट रूपमा उभिँदै उहाँले उठाएका विषयले कृषि क्षेत्रप्रति राज्यको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button