
बारा, ०५ जेठ
कुटपिट तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका एक जना तेस्रोलिङ्गी व्यक्तिलाई रिहा गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय बारा अगाडि प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा केही व्यक्तिले अर्धनग्न तथा नग्न प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्नुका साथै थप तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–५ निवासी महमद सरिफ मियाँ भाँडको जाहेरीका आधारमा वडा नम्बर १४ घर भई हाल वडा नम्बर ६ बस्दै आएका “खुश्बु” भनिने अफजल मियाँ दर्जीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको थियो। सोही क्रममा आइतबार उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई रिहा गर्न माग गर्दै सोमबार बिहान करिब १०:२५ बजेदेखि तेस्रोलिङ्गी समुदायका व्यक्तिहरू तथा समर्थकहरू जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि भेला भएर नाराबाजी गर्न थालेका थिए। प्रदर्शनकारीहरूले सडक अवरोध गर्नुका साथै आवतजावत गर्ने सर्वसाधारण तथा सवारी साधनलाई प्रभावित बनाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितको अनुसार प्रदर्शनका क्रममा होहल्ला, अशान्ति तथा नग्नता प्रदर्शन भएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरी बरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा टोली परिचालन गरिएको थियो। प्रहरीले सम्झाइबुझाइ गर्दा उल्टै प्रहरीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा अभद्र व्यवहार गर्न खोजिएको थियो
प्रहरीले सार्वजनिक शान्ति तथा सुरक्षामा अवरोध पुर्याएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये रौतहट देवाही गोनाही गाउँपालिका–५ निवासी २६ वर्षीया दिव्या रानी, जीतपुर सिमरा उपमहानगरपालिका–८ निवासी २५ वर्षीया निशा भारती तथा अर्की ५७ वर्षीया निशा देवी रहेका छन्। उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले हाल स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
घटनापछि बजार क्षेत्रमा तेस्रोलिङ्गी समूहसँग सम्बन्धित गतिविधिबारे स्थानीय व्यापारी तथा सर्वसाधारणले विभिन्न गुनासोसमेत गरेका छन्। केही व्यापारीहरूले बजार क्षेत्रमा जबर्जस्ती रकम माग्ने, दुर्व्यवहार गर्ने तथा सार्वजनिक स्थानमा अशोभनीय गतिविधि हुने गरेको आरोप लगाएका छन्। यद्यपि यस्ता आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
स्थानीयवासीहरूले बजार क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन तथा सार्वजनिक शान्ति कायम गर्न प्रशासनले दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन्। प्रहरीले भने सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै कानुनी दायराभित्र रहेर आवश्यक कारबाही गरिने जनाएको छ।



