मधेशसमाचार

सीमावर्ती जनताको समस्याप्रति सांसद शाक्य सक्रिय

हरिकिशोर शर्मा

पर्सा, ११ जेठ

पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत भारतसँग जोडिएका सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले दैनिक उपभोग्य सामग्री ओसारपसारमा विभिन्न अवरोध र असहजता भोग्नुपरेको गुनासो बढेपछि प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य सक्रिय भएका छन्।

सीमावर्ती जनताको समस्यालाई मध्यनजर गर्दै सांसद शाक्यको पहलमा पर्साको बाघमुर्चा पोस्टमा समन्वय बैठक सम्पन्न गरिएको हो। बैठकमा जिल्ला सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन क्षेत्रीको रोहवरमा क्षेत्र नम्बर–४ अन्तर्गत रहेका विभिन्न बीओपी प्रमुखहरूको सहभागिता रहेको थियो।

बैठकमा सांसद शाक्यले सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक उपभोग्य सामग्रीको आवतजावतमा कठिनाइ हुँदा जनजीवन प्रभावित भइरहेको उल्लेख गर्दै आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई आग्रह गरेका थिए। उनले सीमाक्षेत्रका नागरिकका समस्या राज्यका निकायले संवेदनशील रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याए।

सांसद शाक्यले सीमामा बसोवास गर्ने नागरिकहरू भारतीय बजारसँग प्रत्यक्ष रूपमा निर्भर रहेको भन्दै अत्यधिक कडाइका कारण स्थानीयको दैनिकी प्रभावित भएको बताए। “जनताको सहज जीवनयापनलाई प्राथमिकतामा राख्दै कानुनी व्यवस्थाभित्र रहेर सहजीकरण आवश्यक छ,” उनले भने।

कार्यक्रममा सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन क्षेत्रीले सीमावर्ती जनताको समस्याप्रति आफू गम्भीर रहेको बताउँदै जनताको सहज जीवनयापनका लागि सशस्त्र प्रहरी सधैँ सकारात्मक रहेको धारणा व्यक्त गरे। उनले कानुनी व्यवस्था र जनताको आवश्यकतालाई सन्तुलनमा राखेर काम गरिने प्रतिबद्धता समेत जनाए।

सीमावर्ती क्षेत्रबाट लगातार गुनासो आउन थालेपछि सांसद शाक्यले सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गरी बैठक आयोजना गरेका हुन्। स्थानीयवासीले पनि यस पहलबाट सीमाक्षेत्रमा देखिएको समस्या समाधानतर्फ सकारात्मक वातावरण बन्ने अपेक्षा गरेका छन्।

पर्सा क्षेत्र नम्बर–४ का सीमावर्ती बासिन्दा दैनिक रूपमा भारतीय बजारसँग जोडिएर उपभोग्य सामग्री खरिद गर्ने भएकाले पछिल्ला दिनमा देखिएको कडाइले उनीहरूको दैनिकीमा प्रत्यक्ष असर परेको स्थानीयहरूको भनाइ छ। यस्तो अवस्थामा सांसद शाक्यको पहललाई सीमावर्ती जनताले सकारात्मक रूपमा लिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button