मधेशसमाचार

मान्छे बोक्सी हुँदैन, नारासहित कटहरीयामा जनचेतना कार्यक्रम 

रौतहट, १२ असार

रौतहटको कटहरिया नगरपालिका–९ डूमरियामा बोक्सी प्रथा न्यूनीकरण तथा अन्धविश्वासविरुद्ध सचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। केही समयअघि सोही क्षेत्रमा एक दलित महिलामाथि बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गरिएको घटनापछि समुदायस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडा, जिल्ला प्रशासन कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा बजार तथा ‘मान्छे बोक्सी हुँदैन कहिल्यै’ राष्ट्रिय जागरण अभियान नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कोविद शरण उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्य प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत राज कुशवाहा विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलाद्मी तथा सर्वसाधारण गरी करिब १८० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बोक्सीको आरोपका नाममा हुने हिंसा, विभेद तथा अमानवीय व्यवहार कानुनतः दण्डनीय अपराध भएको उल्लेख गर्दै अन्धविश्वास अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए। उनीहरूले सामाजिक चेतना, शिक्षा तथा समुदायस्तरको संवादमार्फत मात्र यस्ता कुरीतिहरू अन्त्य गर्न सकिने धारणा व्यक्त गरेका थिए।

गत वैशाख १९ गते कटहरिया–९ निवासी करिब ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई बोक्सीको आरोप लगाउँदै केही व्यक्तिहरूले जबर्जस्ती मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएपछि उक्त विषयले देशव्यापी ध्यानाकर्षण गराएको थियो। एक बालक बिरामी परेको घटनालाई आधार बनाएर उनीमाथि जादुटुना गरेको आरोप लगाइएको प्रहरीले जनाएको थियो। घटनापछि प्रहरीले उनको उद्धार गरी उपचार गराएको थियो।

सो घटनापछि स्थानीय तह, प्रशासन, प्रहरी तथा नागरिक समाजले समुदायस्तरमै अन्धविश्वासविरुद्ध सचेतना अभियानलाई तीव्रता दिएका छन्। पछिल्लो कार्यक्रमलाई बोक्सी प्रथाजस्ता सामाजिक कुरीतिविरुद्धको अभियानलाई थप सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार कानुनी कारबाहीसँगै समुदायमा चेतनाको विकास, शिक्षा र सामाजिक सद्भाव अभिवृद्धि गर्न सके मात्र यस्ता अमानवीय घटनाको पुनरावृत्ति रोक्न सकिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button