मधेशसमाचार

मोटरपार्टस पसलबाट गाँजा बरामद, एक जना पक्राउ 

बारा, १२ असार

बाराको सिम्रौनगढ नगरपालिकामा मोटरपार्टस पसलबाट लागूऔषध गाँजा बरामद भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गोप्य सूचनाका आधारमा छापा मारेर गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब ११ः३० बजे सिम्रौनगढ नगरपालिका–६ निवासी ३३ वर्षीय कृष्ण कुमार साह सोनार ले सिम्रौनगढ बजारस्थित आफ्नै मोटरपार्टस पसलबाट लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनापछि प्रहरी चौकी अमृतगञ्ज खजनी बाट प्रहरी सहायक निरीक्षक जयलाल दास तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट प्रहरी नायब निरीक्षक अग्नु अधिकारीको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले उक्त मोटरपार्टस पसलमा खानतलासी गर्दा काउन्टरको दराजभित्र कालो प्लास्टिकको झोलामा लुकाइराखिएको अवस्थामा पाँच वटा साना प्याकेटमा सेतो प्लास्टिकले बेरिएको लागूऔषध गाँजा फेला पारेको जनाएको छ। प्लास्टिकसहित तौल गर्दा उक्त गाँजाको परिमाण १४ ग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र पक्राउ परेका कृष्ण कुमार साह सोनारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले पछिल्लो समय बजार क्षेत्र तथा सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँच अभियानलाई तीव्र बनाइएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button