रौतहटमा साढे तीन क्विन्टल गाँजा र एक गाडी पक्राउ 

14

असोज ५ रौतहट

जिल्लमा गएराति ठूलो परिमाणमा लागू औषध गाँजा बरामद भएको छ।गस्तीको क्रममा रौतहट प्रहरीले करिब साढे तीन क्विन्टल गाँजा सहित एक गाडी पक्राउ गरेको हो ।

प्रहरी चौकी रामपुरखापबाट असइ अमोद साफीको कमाण्डमा खटेको गस्ती टोलीले गएराति ८ बजेको समयमा इशनाथ नगरपालिका – ८ मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजा जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको हो ।

मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड भएको पिकअप गाडीबाट उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीलाई देखेर चालक गाडी छाडेर भागेका थिए । त्यसपछि प्रहरीलाई गाडीमाथि शंका लागेको थियो।

शंकाको आधारमा प्रहरीले गाडी चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागू औषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले बताएका छन्।

एक पोकामा १५ किलोको दरले १९ पोकामा २८५ किलो र एक पोकामा ७ किलोको दरले ७ पोकामा ४९ किलो गरी जम्मा २६ वटा पोकामा ३३४ किलो गाँजा बरामद भएको डिएसपी कार्कीले बताए।माथिबाट २० किलो काउलीले छोपेर लुकाएको उक्त गाँजा बरामद भएको हो।गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका गाडी चालक र गाँजा तस्करको खोजीकार्य भइरहेको डीएसपी कार्कीले बताए ।

पछिल्लो समय रौतहटमा ठूलो मात्रामा गाँजाको तस्करी भइरहेको पाइएको छ ।

आजभन्दा करिव दुई महिना अघिपनि गरुडा बाट दुई क्विन्टल भन्दा बढी गाँजा बरामद भएको थियो। गाडीमा राखेर नै गाँजा कारोबारीले ठूलो मात्रामा गाँजा तस्करी गर्ने गरेको पाइएको छ।

प्रहरीले गाँजा र गाडी मात्र पक्राउ गर्ने गरेको भएपनि कारोबारी वा तस्कर पक्राउ गर्न नसक्दा गाँजा कारोबारमा वृद्धि भएको देखिएको हो ।

Leave A Reply

Your email address will not be published.