मधेशसमाचार

ग्रामीण क्षेत्रबाट पनि लोप हुँदैछ सामा–चकेवा

कलैया, ०९ कार्तिक

तराई मधेशमा कात्तिक शुक्ल पक्षमा किशोरीहरूले मनाउने सामा–चकेवा ग्रामीण क्षेत्रबाट पनि हराउँदै गएको छ। सामा—चकेवा पर्व कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिन देखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यो पर्व ग्रामीण क्षेत्रबाट पनि लोप हुँदै गएको छ। सामा—चकेवा पर्व विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । बिगतमा बेलुकाको समयमा हरेक गाउँ टोलमा गीत गाउँदै सामा चराउन हिँड्ने किशोरीहरूको दृश्य अब गाउँघरमा पनि दुर्लभ हुँदै गएकोमा छ।

तराई मधेशको एउटा लोकसंस्कृति नै हराउन थालेको छ। सामा–चकेवा सहित तराई मधेशको बिभिन्न लोकसांस्कृतिक पहिचानका आधारहरू भत्किँदै जाँदा पनि स्थानीय सरकारहरूको ध्यान नजानु दुर्भाग्यपूर्ण अवस्था रहेको बुझाई रहेको छ ।

सामा–चकेवा तराई मधेशको लोकजीवनमा प्राचीनकालदेखि चल्दै आएको विशेष पर्व मानिन्छ। द्वापर युगमा श्रीकृष्णकी पत्नी जाम्बवती तर्फबाट जन्मेकी छोरी साम्बालाई लोकजीवनमा सामा भन्ने गरिएको र साम्बाको पतिको नाम चारुवाक भएकोले अपभ्रंश भएर लोकजीवनमा चकवा भनिन थालिएको प्रसंग पाइन्छ। कृष्णको श्रापले छोरी र ज्वाइँ चरा बन्न पुगेकोले सामा–चकेवा पर्व मान्नेहरूले चराको स्वरुपमा पूजा गर्ने गरेको विश्वास रहेको छ।

चराको स्वरुपबाट फेरि मानिस बन्न पुगेको गाथा रहेको सामा–चकेवा कात्तिक महिनाको शुक्ल पक्षमा किशोरीहरूले मनाउने लोकसंस्कृति छ।

हिन्दू धर्म मान्ने तराई मधेसका सबै समुदायको साझा लोकसंस्कृतिको रूपमा रहेको सामा–चकेवामा माटोको साना साना मूर्ति बनाई ढक्कीमा राखेर लोकगीतहरू गाउने चलन रहेको छ। पूर्णिमाको दिन सामा–चकेवाको विसर्जनलाई विशेष उत्साहका साथ लिने गरिन्छ।

यो पर्वमा छठ पर्वको खरनादेखि माटाका मूर्तिहरु बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ, त्यसपछि क्रमिकरुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखवाला चरा, भाग्य चक्रका कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, भूठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङमा रङ्गाउने कार्य गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button