मधेशसमाचार

श्रीमानबाट पीडित जायदा खातुन न्याय र छोराको खोजीमा भौतारिँदै

बारा, २९ पौष

श्रीमानबाट नै पीडित भएको एक महिला आफ्ना अधिकार र छोराको सुरक्षाका लागि न्याय खोज्दै भौतारिनु परेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर २६ की जायदा खातुनले फेटा गाउँपालिका वडा नम्बर ६ का अख्तर देवानसँग मिति २०८० साल फागुन १ गते जिल्ला अदालत कलैया, बारामा विवाह गरेकी थिइन्।

जिल्ला अदालतबाट विवाह प्रमाणपत्र प्राप्त गर्नु अगावै दुबै जनाबीच मुस्लिम रीतिरिवाजअनुसार सोही वर्षको पौष २९ गते धार्मिक विवाह सम्पन्न भइसकेको थियो। त्यसपछि मिति २०८१ साल माघ १० गते फेटा गाउँपालिकाबाट विधिवत रूपमा विवाह दर्ता समेत गरिएको पीडित खातुनले बताएकी छन्।

विवाह दर्ता प्रमाणपत्रको आधारमा श्रीमान अख्तर देवानले आफ्नी श्रीमती जायदा खातुनको नेपाली नागरिकता समेत बनाइदिएको जनाइएको छ। तर, खातुन गर्भावस्थामा रहेको समयदेखि नै श्रीमानले आफूलाई बेवास्ता गर्दै अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएकी छन्।

खातुनका अनुसार श्रीमानको उपेक्षापछि सास–ससुराले समेत घरमा बस्न नदिएपछि उनी गम्भीर समस्यामा परेकी छिन्। “घरबाट निकालिएपछि म पूर्ण रूपमा असहाय बनेँ,” खातुनले भनिन्। न्यायको आशामा प्रहरीमा उजुरी दिँदा समेत अपेक्षित सहयोग नपाएको उनको गुनासो छ।

अझ गम्भीर कुरा के छ भने, उजुरीकै क्रममा श्रीमान देवानले ११ महिनाको नाबालक छोरालाई आफूसँगै लगेको आरोप पनि खातुनले लगाएकी छन्। छोराबाट वञ्चित भएपछि मानसिक रूपमा थप पीडित बनेकी खातुनले आफूलाई ज्यान मार्ने धम्की समेत आउने गरेको बताएकी छन्।

खातुनका अनुसार श्रीमान अख्तर देवान र उनका आमाबुवाले उच्च अदालतमा निवेदन दर्ता गराई आफूलाई थप दबाब र धम्की दिने गरेका छन्। यसै कारण आफ्नो ज्यान र छोराको सुरक्षाप्रति गम्भीर चिन्ता बढेपछि न्यायका लागि मिडियाको सहारा लिनु परेको उनले बताइन्।

पीडित जायदा खातुनले सम्बन्धित निकायसँग निष्पक्ष छानबिन गरी आफूलाई न्याय दिलाइदिन तथा नाबालक छोराको सुरक्षित भविष्य सुनिश्चित गरिदिन माग गरेकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button