मधेशसमाचार

गढीमाई विश्वसम्पदा सूचिकरणदेखि विकाससम्म शून्य उपलब्धि, पुनः उही अनुहारमा जनता सशंकित

कलैया, १० माघ

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नं. २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव उपराष्ट्रपति बनेसँगै उक्त क्षेत्र राजनीतिक रूपमा खाली भयो। त्यसपछि २०८० साल बैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट जसपा कै केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

तर दुई–दुई प्रभावशाली पदमा रहेका नेताहरू यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदासमेत बारा–२ का जनताको अपेक्षा अनुसार कुनै उल्लेखनीय उपलब्धि हासिल हुन नसकेको भन्दै अहिले जसपा प्रति गम्भीर असन्तोष देखिन थालेको छ।

विशेषगरी विश्वप्रसिद्ध धार्मिक तथा सांस्कृतिक धरोहर गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने विषयमा उपराष्ट्रपति रामसहाय यादव र जसपा अध्यक्ष उपेन्द्र यादव दुवै असफल भएको स्थानीयहरूको आरोप छ। अन्तर्राष्ट्रिय महत्व बोकेको मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउन सकिएको भए बारा मात्र होइन, समग्र मधेशको पहिचान र पर्यटन विकासमा ठूलो फड्को मार्न सकिन्थ्यो। तर सत्ता र पहुँच हुँदाहुँदै पनि उक्त विषय कागजमै सीमित रहनु नेताहरूको गैरजिम्मेवारी भएको टिप्पणी हुन थालेको छ।

यही पृष्ठभूमिमा आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जसपा पार्टीले पुनः रामकिशोर यादवलाई उम्मेदवार बनाएको छ। तर विगतका अनुभवका कारण मतदाता उत्साहित देखिँदैनन्।

महागढीमाई नगरपालिका वडा नं. १ निवासी जितेन्द्र गिरी भन्छन्,

“उपराष्ट्रपति र पार्टी अध्यक्ष जस्ता शक्तिशाली नेताहरू यही क्षेत्रबाट जितेर जाँदा पनि जनताको जीवनमा कुनै ठोस परिवर्तन आएन। गढीमाई जस्तो विश्वस्तरीय धरोहरको विषय समेत ओझेलमा पारियो। यस्तो अवस्थामा फेरि जसपाकै उम्मेदवारलाई जनताले कसरी विश्वास गर्ने?”

स्थानीय बासिन्दाहरूका अनुसार बारा–२ मा विकासका आधारभूत मुद्दा—रोजगार, स्वास्थ्य, शिक्षा, सडक र पर्यटन—सबैजसो उपेक्षित छन्। चुनावी बेला देखाइने आश्वासन बाहेक व्यवहारमा परिवर्तन नआएको गुनासो व्यापक छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, जसपा नेतृत्वले बारा–२ लाई सुरक्षित निर्वाचन क्षेत्र ठानेर गम्भीरतापूर्वक काम नगरेको परिणाम अहिले जनआक्रोशको रूपमा देखिन थालेको हो। जनताले अब पार्टी होइन, कामको मूल्यांकन गरेर मत दिने संकेत देखिन थालेको उनीहरूको बुझाइ छ।

यस पटकको निर्वाचन बारा–२ का लागि केवल उम्मेदवार चयनको मात्र होइन, विश्वासको पुनःपरीक्षण बनेको छ। जनताले फेरि पुरानै अनुहारलाई अवसर दिन्छन् वा नयाँ विकल्प खोज्छन् भन्ने प्रश्नको उत्तर फागुन २१ गतेको मत परिणामले दिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button