मधेशसमाचार

वकिल एकरामुल्लाह हकविरुद्ध जबरजस्ती करणीको गम्भीर आरोप, मुद्दा दर्ता गरी प्रहरी नियन्त्रणमा

बारा, ८ माघ

बारा जिल्लाका वकिल एकरामुल्लाह हकविरुद्ध जबरजस्ती करणीको गम्भीर आरोपमा ईलाका प्रहरी कार्यालय सिमरामा मुद्दा दर्ता गरिएको छ। कानुन व्यवसायी जस्तो जिम्मेवार पेशामा संलग्न व्यक्तिबाटै यति गम्भीर अपराध भएको आरोप सार्वजनिक भएपछि घटनाले जिल्लामा तरंग सिर्जना गरेको छ।

प्रहरी स्रोतका अनुसार पीडित महिलालाई जिल्ला अदालतमा चलिरहेको एक मुद्दामा कानुनी पैरवी गरिदिने बहानामा सिमरास्थित एक होटलमा बोलाइएको थियो। सोही होटलमा महिलामाथि जबरजस्ती करणी गरिएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

उजुरीकै आधारमा अभियुक्त वकिल हकलाई यही माघ ५ गते पक्राउ गरी जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोसीले जानकारी दिनुभयो।

प्रहरी नायब उपरीक्षक जोसीका अनुसार जिल्ला अदालतबाट आवश्यक म्याद थप अनुमति लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। घटनाका प्रमाण संकलन, पीडितको बयान तथा अन्य आवश्यक प्रक्रिया कानुनअनुसार अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कानुनको रक्षा र न्याय दिलाउने पेशामा आबद्ध व्यक्तिबाटै यस्तो गम्भीर अपराध भएको आरोप लाग्नु अत्यन्तै निन्दनीय र चिन्ताजनक विषय भएको स्थानीयवासी तथा सरोकारवालाहरूले प्रतिक्रिया दिएका छन्। घटनाले न्याय प्रणालीप्रति आमनागरिकको विश्वासमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।

प्रहरीले अनुसन्धान निष्पक्ष र कानुनी प्रक्रियाअनुसार अघि बढाइने स्पष्ट पार्दै दोषी प्रमाणित भए कानुनबमोजिम कडा कारबाही हुने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button