मधेशसमाचार

मस्जिदमा स्थान अभाव भएपछि सडकमै शुक्रबारको नमाज

रौतहट , ०२ फागुन

रौतहटको सदरमुकाम गौर नगरपालिका–३ स्थित पोखरिया टोलमा शुक्रबार मुस्लिम समुदायले सार्वजनिक सडकमा नमाज अदा गरेका छन्। शुक्रबारको नमाजमा सहभागीको संख्या बढी हुने भएकाले स्थानीय मस्जिद भित्र पर्याप्त स्थान नहुँदा नमाजीहरू सडकमै बस्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन्।

स्थानीयका अनुसार नियमित दिनको तुलनामा शुक्रबार नमाज पढ्नेहरूको संख्या उल्लेख्य हुने गर्दछ। पोखरिया टोल स्थित मस्जिद सानो भएकाले सबै नमाजीहरू अटाउन नसक्दा शुक्रबार दिउँसो सार्वजनिक सडक प्रयोग गरी नमाज अदा गरिएको छ। नमाजको समयमा सडकमा केही समय आवतजावत प्रभावित समेत भएको थियो ।

स्थानीय मुस्लिम समुदायका अगुवाहरूले मस्जिदमा स्थान अभाव दीर्घकालीन समस्या बनेको बताएका छन्। उनीहरूका अनुसार समुदायको जनसंख्या वृद्धि भएसँगै नमाज अदा गर्नेहरूको संख्या बढ्दै गएको भए पनि धार्मिक संरचनाको विस्तार हुन नसक्दा सार्वजनिक स्थान प्रयोग गर्नुपर्ने अवस्था आएको हो।

“शुक्रबार विशेष नमाज हुने भएकाले सबै नमाजी मस्जिदमा अट्दैनन्, त्यसैले बाध्य भएर बाहिर बस्नुपरेको हो,” एक स्थानीयले बताए।

 

स्थानीयवासीहरूले यस विषयमा स्थानीय प्रशासन र सम्बन्धित निकायले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। धार्मिक आस्था कायम राख्दै सार्वजनिक सडक र यातायात व्यवस्थापनमा समस्या नआउने गरी वैकल्पिक व्यवस्था वा संरचना विस्तारतर्फ ध्यान दिनुपर्ने उनीहरूको माग छ।

सार्वजनिक स्थानमा नमाज अदा गरिएको विषयले गौर नगर क्षेत्रमा धार्मिक आस्था, सार्वजनिक व्यवस्थापन र सहअस्तित्वका सवालमा गम्भीर छलफल आवश्यक रहेको देखाएको छ। स्थानीय तह, समुदाय र प्रशासनबीच समन्वय गरी दीर्घकालीन समाधान निकाल्न सकिने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button