बारा–३ मा त्रिपक्षीय कडा प्रतिस्पर्धा

7

बारा , ०१ फागुन

बारा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यस क्षेत्रमा ९ जना स्वतन्त्रसहित कुल २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये जनमत पार्टीबाट उम्मेदवारी दिएका प्रमोद गुप्ता, जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका इन्जिनियर अरबिन्द साहबीच कडा प्रतिस्पर्धा देखिएको छ।

तीन प्रमुख उम्मेदवारले आ–आफ्नो प्रभाव क्षेत्रका गाउँ–टोलमा निरन्तर घरदैलो अभियान सञ्चालन गर्दै जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। स्थानीय बासिन्दाका गुनासो सुन्ने, समस्या टिपोट गर्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धतासहित उनीहरू मतदाताको घर–आँगनमा पुगिरहेका छन्।

उम्मेदवारहरू विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य चुनावी एजेण्डाका रूपमा अघि सारिरहेका छन्। जनमत पार्टीका उम्मेदवार गुप्ताले युवामुखी रोजगारी र उत्पादनमा आधारित अर्थतन्त्रमा जोड दिँदै आएका छन्। जसपाका उम्मेदवार यादवले समावेशी विकास, अधिकार र पहिचानको मुद्दालाई प्राथमिकतामा राखेका छन् भने रास्वपाका उम्मेदवार साहले सुशासन, पारदर्शिता र प्रविधिमैत्री विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्।

यी तीन उम्मेदवारसँगै बाँकी उम्मेदवारहरू पनि मतदाता रिझाउने प्रयासमा सक्रिय देखिएका छन्। चुनावी सभा, टोलभेला, घरदैलो र सामाजिक सञ्जालमार्फत आफ्ना धारणा र योजना सार्वजनिक गर्दै उनीहरू मतदाताको समर्थन जुटाउन व्यस्त छन्।

बारा–३ मा देखिएको तीव्र प्रतिस्पर्धाले निर्वाचनलाई रोचक बनाएको छ। स्थानीय मतदाताहरू उम्मेदवारको विगत, व्यवहार र प्रस्तुत एजेण्डाको मूल्याङ्कन गर्दै विवेकपूर्ण निर्णय लिने तयारीमा रहेको बताउँछन्। निर्वाचन मिति नजिकिँदै जाँदा प्रचार–प्रसार अझ सशक्त बन्दै जाने अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.