मधेशसमाचार

देवताल गाउँपालिका–२ मा चार करोडभन्दा बढी लागतमा कालोपत्रे सडक शिलान्यास, स्थानीयवासीमा उत्साह

बारा, ११ चैत

देवताल गाउँपालिका वडा नं. २ अन्तर्गत लामो समयदेखि प्रतीक्षामा रहेको कालोपत्रे सडक निर्माण कार्यको मंगलबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। करिब दुई किलोमिटर लामो यो सडक देवापुर झिटकैया देखि राधाकृष्ण मन्दिर, पिपरपातीसम्म निर्माण हुने भएको हो।

सडक निर्माण आयोजनाको कुल लागत रु ४ करोड ३३ लाख १३ हजार २ सय ५८ रुपैयाँ ४० पैसा रहेको छ। उक्त योजना भुपेन्द्र कन्स्ट्रक्सन, कलैया–६, बारासँग सम्झौता गरी कार्यान्वयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवले जानकारी दिए।

सम्झौताअनुसार आयोजना २०८४ माघ २५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि उक्त सडकले देवापुर, झिटकैया, पिपरपाती क्षेत्रका बासिन्दाको दैनिक आवतजावत सहज बनाउने र स्थानीय विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रम गाउँपालिका अध्यक्ष उदय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अध्यक्ष यादवले पिपरपाती मठदेखि देवापुर चौकसम्मको सडक निर्माण स्थानीयवासीको वर्षौंदेखिको माग र आवश्यकता भएको उल्लेख गर्दै यसलाई गाउँपालिकाको प्राथमिक विकास योजना अन्तर्गत अघि बढाइएको बताए।

उनले भने, “यो सडक केवल भौतिक पूर्वाधार मात्र होइन, स्थानीयको जीवनस्तर सुधार्ने आधार पनि हो। विगत चार वर्षदेखि उठ्दै आएको माग आज पूरा हुने दिशामा अघि बढेको छ।”

स्थानीयवासीका अनुसार वर्षौंदेखि जीर्ण अवस्थामा रहेको उक्त सडकका कारण वर्षायाममा हिलो र हिउँदमा धुलोले दैनिक आवतजावत अत्यन्त कठिन हुने गरेको थियो। विद्यार्थी, किसान, व्यापारी तथा बिरामीलाई समेत आवतजावतमा ठूलो समस्या हुँदै आएको थियो।

अब सडक कालोपत्रे हुने भएपछि स्थानीयमा उत्साह छाएको छ। स्थानीयहरूले विकासको यो कदमले यातायात सहज हुनुका साथै बजार पहुँच, कृषि उत्पादन ढुवानी र आपतकालीन सेवा प्रवाहमा समेत सुधार आउने विश्वास व्यक्त गरेका छन्।

गाउँपालिकाले निर्माण कार्यलाई गुणस्तरीय, समयमै सम्पन्न र पारदर्शी बनाउन सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको जनाएको छ। साथै, नियमित अनुगमन र प्राविधिक निरीक्षणमार्फत कामको गुणस्तर सुनिश्चित गरिने पनि जनाइएको छ।

यस सडक आयोजना सम्पन्न भएपछि देवताल गाउँपालिकाको पूर्वाधार सञ्जाल मजबुत हुने र ग्रामीण विकासमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button