
रौतहट , ०४ जेठ
विकास र समृद्धिको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत रौतहट र सर्लाही जिल्ला जोड्ने बागमती नदीको पुल १५ वर्षदेखि अलपत्र अवस्थामा रहँदा स्थानीय बासिन्दाको सास्ती हटेको छैन । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ५ बडहर्वा र सर्लाही जोड्ने निर्माणाधीन पुल निर्माणमा भएको चरम ढिलासुस्तीले सर्वसाधारण नागरिक ज्यान जोखिममा राखेर नदी वारपार गर्न बाध्य भएका छन् ।
पुल नहुँदा किसान, दैनिक मजदुरी गर्ने यात्रु, विद्यार्थी, बिरामी तथा सवारी चालकहरू काठे डुंगाको प्रयोग गरेर बागमती नदी पार गरिरहेका छन् । विशेषगरी वर्षायाम सुरु हुन लाग्दा नदीमा पानीको बहाव बढ्ने र दुर्घटनाको जोखिम उच्च हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
वि.सं. २०६७ साल जेठ ३१ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले निकै तामझामका साथ यस पुलको शिलान्यास गरेका थिए । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ६३३ मिटर लामो पुल निर्माणको सम्झौता गरिएको थियो । लुम्बिनी बिल्डर्सले ३५ करोड ८९ लाख रुपैयाँमा ठेक्का लिएको भए तापनि यसको सम्पूर्ण काम पप्पु कन्स्ट्रक्सनमार्फत अगाडि बढाइएको थियो । तर सम्झौता भएको १५ वर्ष पुग्न लाग्दा पनि पुल अझै अलपत्र छ ।
पुल अभावमा दुई जिल्लाको व्यापारिक तथा सामाजिक सम्बन्ध मात्र प्रभावित भएको छैन, स्वास्थ्य उपचारका लागि अस्पताल पुग्नुपर्ने बिरामीहरूले समेत सास्ती खेप्नु परेको छ । विकासको ठूला कुरा गरिन्छ, तर हाम्रो आँखा अगाडिको पुल वर्षौंदेखि कङ्कालभै ठडिएको छ, स्थानीय एक बासिन्दाले आक्रोश पोख्दै भने, हाम्रा दुःख देख्ने कोही भएनन् ।
निर्माण कम्पनीको लापरबाही, नियामक निकायको कमजोर अनुगमन र प्रशासनिक कमजोरीका कारण यो योजना सुरुदेखि नै विवादको घेरामा रहँदै आएको छ ।
पुल निर्माणको काम रोकिँदा त्यस क्षेत्रको आर्थिक गतिविधि समेत सुस्त बनेको छ । निर्माण कार्यलाई तीव्रता दिन स्थानीयले पटक–पटकd सम्बन्धित निकाय र जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराए पनि ठोस प्रगति हुन सकेको छैन ।
हुलाकी राजमार्ग निर्देशनालय र निर्माण व्यवसायी बीचको समन्वय अभाव तथा प्राविधिक समस्या देखाउँदै काम पन्छाउने प्रवृत्तिले सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति सृजना भएको छ । स्थानीयले अब पनि ढिलासुस्ती सह्य नहुने भन्दै तत्काल काम सुचारु गरी पुल सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।



