
रौतहट, २९ कार्तुिक
रौतहटको फतुवा विजयपुर नगरपालिका–२ शितलपुरमा स्थानीय युवा समाजसेवी शशिभूषण यादव (राजा यादव) को नेतृत्वमा सडकका खाल्डाखुल्डी पुर्ने तथा मर्मतसम्भार गर्ने कार्य गरिएको छ। सडकमा खाल्डाखुल्डी बढ्दै जाँदा आवतजावतमा समस्या भोग्दै आएका स्थानीयवासीलाई लक्षित गरी युवाहरूले आफ्नै पहलमा सडक मर्मत गरेका हुन्।
वडाभित्रका विभिन्न स्थानमा रहेका सडकमा खाल्डाखुल्डी बढ्दै जाँदा सर्वसाधारण, पैदलयात्री तथा सवारीसाधन चालकलाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो। सडकको अवस्था बिग्रिँदै जाँदा दुर्घटनाको जोखिमसमेत बढेको थियो। पटक–पटक समस्या भोग्नुपरेपछि स्थानीय युवाहरूले सामूहिक रूपमा सडक मर्मत गर्ने अभियान अघि बढाएका हुन्।
स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै युवा समाजसेवी यादवले आफ्नै नेतृत्वमा सडकका खाल्डाखुल्डीमा माटो पुर्ने कार्यको अगुवाइ गरेका थिए। सार्वजनिक समस्या समाधानका लागि स्थानीय सरकारको मात्रै भर नपरी व्यक्तिगत पहल र सामूहिक सहभागितामा गरिएको यस कार्यले सामाजिक उत्तरदायित्व र सेवाभावको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
सडक मर्मत कार्य सम्पन्न भएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै शशिभूषण यादवसहित सहभागी युवाहरूको प्रशंसा गरेका छन्। उनीहरूले गाउँको साझा समस्या समाधान गर्न युवाहरू आफैँ अघि सर्नु सराहनीय रहेको बताउँदै यस्ता सामाजिक कार्यले समुदायमा एकता, सहकार्य र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरेका छन्।
उक्त सडक मर्मत कार्यमा युवा समाजसेवी शशिभूषण यादव, हरिश्चन्द्र यादव, अमित यादव, रविन्द्र यादव, कृष्णनन्दन यादव, कुन्दन कुशवाहा, अर्जुन, मनोजलगायत गाउँका युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
स्थानीयस्तरमा सानो पहलले पनि ठूलो सामाजिक परिवर्तनको सुरुवात गर्न सक्ने सन्देश दिएको यस अभियानले सार्वजनिक सम्पत्तिको संरक्षण र गाउँको विकासमा युवाहरूको भूमिका महत्वपूर्ण हुने देखाएको छ।



