
सिकिन्द्र साह
बारा, २९ कार्तिक
बाराको सिम्रौनगढ नगरपालिका–१० स्थित देवापुर टेटामा छठ पर्वको अवसर पारेर युवाहरूको समूह जीएनजे (GNJ) को आयोजनामा शुभकामना आदान–प्रदान तथा गाउँ विकाससम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
मिथलेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय युवा, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय युवा शनि यादव, सरकारी वकिल ऋतिक यादव, शिक्षक सुवेदी यादव, युवा विकास यादव, इन्जिनियर बृजकिशोर गुप्ता, पशु चिकित्सक मदन यादव, महिला राजनीतिकर्मी ममता शर्मा, जग्गाप्रसाद यादव, बिसनाथ यादव र जयप्रकाश यादव लगायतले आ–आफ्ना धारणा राखेका थिए।
छलफलका क्रममा वक्ताहरूले गाउँको समग्र विकासका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याएका थिए। उनीहरूले पुरानो राजनीतिक संस्कार र कार्यशैलीमा सुधार गर्दै नयाँ प्रविधि, नवीन सोच तथा सकारात्मक दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
गाउँको विकासका लागि राजनीतिक नेतृत्वसँगै युवा, बुद्धिजीवी, शिक्षित वर्ग र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको वक्ताहरूको भनाइ थियो। स्थानीय स्तरमा विद्यमान समस्या पहिचान गरी सामूहिक प्रयासबाट समाधान खोज्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए।
देवापुर टेटामा स्थानीय युवाहरूको पहलमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना भएको भन्दै सहभागीहरूले यसलाई सकारात्मक सुरुवातका रूपमा लिएका थिए। यस्ता कार्यक्रमले युवाहरूबीच एकता, आपसी सद्भाव र सामाजिक जिम्मेवारीको भावना विकास गर्नुका साथै गाउँको विकासमा नयाँ सम्भावना खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले एकअर्कालाई छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भावको कामना गरेका थिए। स्थानीय युवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा समाजसेवीहरूको सहभागितामा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।



