
वीरगंज, २९ कार्तिक
छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित, सभ्य तथा मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा विशेष सतर्कता अपनाएका छन्। पर्वका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना, आगलागी, मानवीय तथा भौतिक क्षति र सवारी जामलाई नियन्त्रण गर्न प्रशासनले विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक अपिल जारी गर्दै पटका, आतिसबाजी तथा विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। छठ पर्वका क्रममा पटका तथा आतिसबाजी प्रयोग गर्दा आगलागी र दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता पदार्थ प्रयोग नगर्न तथा नगराउन प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलअनुसार कार्तुिक २८ र २९ गते छठ पूजा स्थल तथा घाट वरपर माछा, मासु लगायतका खाद्य पदार्थ र सम्पूर्ण मादक पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न भनिएको छ। जिल्ला सुरक्षा समिति पर्साको कार्तिक २८ गते बसेको बैठकको निर्णयअनुसार यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
त्यसैगरी, छठ घाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण डुब्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित विपद् तथा दुर्घटना भएमा तत्काल उद्धार गर्न आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा राखिने जनाइएको छ।
पर्व अवधिभर जिल्लाको शान्ति सुरक्षा चुस्त र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिबीच आवश्यक समन्वय गरिने अपिलमा उल्लेख छ। धार्मिक आस्था, पर्वको पवित्रता र सामाजिक सद्भाव कायम राख्दै छठलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासनले जिल्लावासी, व्यवसायी तथा सरोकारवाला सबैसँग सहयोग मागेको छ।
यसैबीच, छठ पर्व तथा छठीमाई मेला व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजमा विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ। प्रहरीले कात्तिक २९ गते बिहान ६ बजेदेखि कार्तिक ३० गते बिहान १० बजेसम्म विभिन्न सडक तथा चोकमा सवारी आवागमन निषेध गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रहरीका अनुसार दुईपाङ्ग्रे सवारीसाधनका लागि पावरहाउस चोकबाट घण्टाघरतर्फ र रजतजयन्ती चोकबाट मकालुतर्फ प्रवेश निषेध गरिएको छ। ती स्थानबाट आवतजावत गर्ने सवारीचालकलाई बाइपास सडकखण्ड प्रयोग गर्न आग्रह गरिएको छ।
त्यस्तै, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनका हकमा घण्टाघरबाट माइस्थानतर्फ र मकालु चोकबाट आदर्शनगरतर्फ प्रवेश रोक लगाइएको छ। उक्त मार्ग प्रयोग गर्ने सवारीसाधनलाई रेल्वे सडकखण्ड तथा बाइपास सडकखण्ड प्रयोग गर्न भनिएको छ।
दुईपाङ्ग्रे लगायत सम्पूर्ण सवारीसाधनका लागि घडिअर्वा पोखरीतर्फ जाने विभिन्न सडकमा समेत प्रवेश निषेध गरिएको छ। माइस्थान चोक, लाठ गल्ली चोक, कर कार्यालय, अशोकवाटिका चोक, हनुमान मन्दिर (खेलकुद विकास समितिको कार्यालय पछाडि) तथा कबर्ड हल (खेलकुद विकास समिति कार्यालय अगाडि) बाट घडिअर्वा पोखरीतर्फ जाने सवारीसाधनलाई रोक लगाइएको छ।
छठको मुख्य पूजा तथा अर्घ्य दिने समयमा पोखरी र घाट क्षेत्रमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने भएकाले सवारीसाधनको अनियन्त्रित आवागमनले पैदलयात्री तथा व्रतालुलाई असहज हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले सवारीसाधनको चाप, तत्कालीन परिस्थिति तथा भक्तजनको भीडलाई मध्यनजर गर्दै आवश्यकताअनुसार ट्राफिक व्यवस्थापनमा परिवर्तनसमेत हुन सक्ने जनाएको छ। सवारीचालकलाई निर्धारित वैकल्पिक मार्ग प्रयोग गर्न, ट्राफिक नियम पालना गर्न तथा सुरक्षाकर्मीको निर्देशनअनुसार आवागमन गर्न आग्रह गरिएको छ।
छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै प्रशासन र प्रहरी दुवैले सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्। पर्वलाई दुर्घटनारहित, शान्तिपूर्ण र मर्यादित बनाउन प्रशासनको निर्देशन पालना गर्नुका साथै नागरिकको जिम्मेवार सहभागिता पनि उत्तिकै आवश्यक देखिएको छ।



