मधेशसमाचार

रौतहट एक्सपो २०८३ सुरु हुँदै स्थानीय उत्पादनको प्रवर्द्धनसँगै व्यापारिक चहलपहल बढ्ने अपेक्षा

सत्येन्द्र प्रताप सिंह
रौतहट, ०४ मंसिर
​जिल्लाको सुस्त रहेको आर्थिक तथा व्यापारिक गतिविधिलाई चलायमान बनाउँदै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ रौतहटको सदरमुकाम गौरमा शनिबार देखि रौतहट एक्सपो २०८३ आयोजना हुने भएको छ। रौतहट उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा निर्माण व्यवसायी संघ रौतहटको सह–आयोजनामा सञ्चालन हुन लागेको उक्त बृहत् व्यापारिक तथा मनोरञ्जनात्मक महोत्सव आगामी मंसिर २२ गतेसम्म चल्नेछ ।
​गौरस्थित ऐतिहासिक राइस मिल्सको खेल मैदानमा आयोजना हुन लागेको एक्सपोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाए । शुक्रबार मेला परिसरमा आयोजित पत्रकार सम्मेलनमा रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपालीले महोत्सवको तयारी र उद्देश्यबारे विस्तृत जानकारी दिए ।
​​पछिल्लो समय आर्थिक मन्दी र विभिन्न कारणले सुस्ताएको जिल्लाको व्यापारिक क्षेत्रलाई पुनर्जीवन दिन एक्सपोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। अध्यक्ष गोपालीका अनुसार स्थानीय स्तरमा उत्पादित कृषि उपज, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला र विभिन्न व्यावसायिक वस्तु तथा सेवाको प्रदर्शनी एवं बिक्रीका लागि एक्सपोमा विशेष स्टलहरूको व्यवस्था गरिएको छ । ​पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोपालीले स्थानीय उद्योगी, व्यवसायी, कृषक तथा उत्पादकहरूलाई आफ्ना उत्पादनको प्रचारप्रसार र प्रत्यक्ष बिक्रीका लागि स्टल उपलब्ध गराइएको छ । यसले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नुका साथै जिल्लाको व्यापारिक पहिचान विस्तार गर्न कोसेढुङ्गा सावित हुनेछ।
​नेपालमै पहिलोपटक ग्राभिटी झुलुवा’ सहितका विशेष आकर्षण
​व्यापारिक प्रदर्शनीसँगै एक्सपोलाई पारिवारिक तथा मनोरञ्जनात्मक बनाउन आयोजकले विभिन्न नौला आकर्षणहरू भित्र्याएको छ । आयोजक समितिका अनुसार मेलामा कलात्मक ‘लन्डन ब्रिज’ र जलपरी शो मुख्य आकर्षणका रूपमा रहनेछन् ।
​यसैगरी, बालबालिका, युवा तथा परिवारसहित मेला अवलोकन गर्न आउने दर्शकहरूलाई लक्षित गर्दै नेपालमै पहिलोपटक भित्र्याइएको ग्राभिटीसहितको झुलुवा’, ‘सुनामी झुलुवा’ र ‘रसियन झुलुवा’ लगायतका अत्याधुनिक मनोरञ्जनात्मक खेलहरू जडान गरिएको छ । महोत्सव अवधिभर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्न भोजपुरी चलचित्र तथा संगीत क्षेत्रका चर्चित कलाकारहरूसँगै स्थानीय कलाकारहरूको दैनिक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ ।
​कडा सुरक्षा र बीमाको प्रत्याभूति
​मेलामा आउने हजारौं दर्शक तथा सहभागी व्यवसायीहरूको सुरक्षा र सुविधालाई आयोजकले उच्च प्राथमिकतामा राखेको छ । शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन स्थानीय प्रहरी प्रशासनसँग आवश्यक समन्वय भइसकेको अध्यक्ष गोपालीले बताए ।
​साथै मेला अवधिभर हुन सक्ने सम्भावित दुर्घटना वा भवितव्यबाट उत्पन्न हुने क्षति न्यूनीकरण गर्न आयोजकले बीमाको समेत व्यवस्था गरेको छ । एक्सपोलाई व्यवस्थित मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको आयोजकले जनाए ।
​सरोकारवालाको ऐक्यबद्धता र सहभागिताको अपिल
​शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सह–आयोजक निर्माण व्यवसायी संघ रौतहटका कोषाध्यक्ष विकास विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठ, आयोजक समितिका पदाधिकारीहरू मनोज कुशवाहा, अमित गुप्ता, आशुतोष सिंहलगायत सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
​व्यापार स्थानीय उत्पादनको प्रवर्द्धन, कला–संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको यस एक्सपोले गौर बजारमा आर्थिक चहलपहल बढाउने अपेक्षा गरिएको छ। आयोजक रौतहट उद्योग वाणिज्य संघले जिल्लाका सम्पूर्ण उद्योगी, व्यवसायी, कृषक, विद्यार्थी तथा आम सर्वसाधारणलाई एक्सपोको अवलोकन गरी सफल पारिदिन हार्दिक अपिल गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button