मधेशसमाचार

मधेशमा सरकार गठनको गाँठो फुक्न सकेन, समय थप्न तीन दलको आग्रह

जनकपुर, ०४ मंसिर

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसक्दा राजनीतिक अन्योल बढेको छ। संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समयसीमा सकिन लाग्दा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग समय थप गर्न आग्रह गरेका छन्।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ४ बजेसम्मको समय दिएका थिए। तर, दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने र सत्ता साझेदारी कसरी गर्ने भन्ने विषयमा सहमति बन्न नसकेपछि तीन दलले समय थपको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित आग्रह गरेका हुन्।

नेकपाका संसदीय दलका नेता युवराज भट्टराईले छठपर्व तथा एमालेको राष्ट्रिय भेलालगायतका कारण दलहरूबीच पर्याप्त छलफल हुन नसकेको भन्दै थप समय माग गरिएको बताएका छन्। सरकार गठनका विषयमा विभिन्न दलसँग छलफल भइरहेको भए पनि मुख्यमन्त्रीको नेतृत्वबारे ठोस निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ।

यता, प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले भने संविधानको धारा १६८ (३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेको छ। प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नो संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री नियुक्त गर्न जसपा नेपालले प्रदेश प्रमुखसँग आग्रह गरेको हो। पार्टीका प्रदेशसभा सदस्यहरूले आज साँझ प्रदेश प्रमुखलाई भेटेर उक्त माग राखेका छन्।

दलहरूबीच बहुमत जुटाउने प्रयास जारी रहेकै बेला जसपा नेपालले ठूलो दलको हैसियतमा सरकार गठनको विकल्प अघि सारेपछि मधेश प्रदेशको राजनीतिक समीकरण थप पेचिलो बनेको छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने प्रयास सफल नभए संविधानको अर्को व्यवस्थाअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्न सक्ने देखिएको छ।

यसअघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। जनमतको उक्त निर्णयले सरकार गठनका लागि दलहरूबीच बहुमत जुटाउने प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ।

नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएका एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गरेका थिए।

१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन्। नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य रहेका छन्।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नभएकाले सरकार गठनका लागि गठबन्धन आवश्यक छ। तर, मुख्यमन्त्रीको नेतृत्वमा दलहरूबीच सहमति नबन्दा प्रदेशको सत्ता समीकरण अनिश्चित बनेको छ। समय थपको माग र जसपा नेपालको वैकल्पिक दाबीले मधेशमा नयाँ सरकार गठनको प्रक्रिया थप राजनीतिक रस्साकस्सीमा फसेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button