मधेशसमाचार

सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउन एसपी रिजालको जोड

रूपेश यादव
रौतहट, २९ जेठ
रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टको नवनिर्मित भवन उद्घाटन गरिएको छ। बिहीबार आयोजित एक समारोहबीच जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक रिजालले भवन निर्माण कार्य समयमै सम्पन्न गर्न योगदान पुर्‍याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गरे। उनले नवनिर्मित भवनबाट प्रवाह हुने सेवा अझ प्रभावकारी, नागरिकमैत्री तथा व्यावसायिक बन्ने विश्वास व्यक्त गरे।
एसपी रिजालले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै ट्राफिक प्रहरीको भूमिका सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण रहेको धारणा राखे।
उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई बोलीवचन, व्यवहार र कार्यशैलीमा अनुशासन कायम राख्दै नागरिकमैत्री सेवा दिन निर्देशनसमेत दिए। साथै, सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने र नागरिकहरूले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत हुनुपर्ने बताए।
कार्यक्रममा प्रहरी निरीक्षक सुरेन्द्र यादव, फतुवा विजयपुर नगरपालिका–८ का वडाध्यक्ष राकेश यादव, स्थानीय समाजसेवी नितेश चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष राकेश यादवले यस क्षेत्रमा ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले सबै नागरिकलाई ट्राफिक नियमको कडाइका साथ पालना गर्न आग्रह गर्दै नियमको पालनाले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी नितेश चौधरीले ट्राफिक प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर चेकजाँच तथा निगरानी बढाउँदै आएको उल्लेख गर्दै ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गरे।
स्थानीयवासीले ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण भएसँगै सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र सहज हुने अपेक्षा गरेका छन्। नवनिर्मित भवन सञ्चालनमा आएपछि यस क्षेत्रको ट्राफिक व्यवस्थापन, दुर्घटना नियन्त्रण तथा नागरिक सेवामा थप सुधार आउने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button