मधेशसमाचार

बिधालय कर्मचारीको अवकाश उमेर ६० बर्ष कायम गर्न शिक्षा विकास तथा समन्वय ईकाई बाराको निर्देशन

कलैया , २९ जेठ
शिक्षा विकास तथा समन्वय इकाई, बाराले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको अवकाश उमेर ६० वर्ष कायम गर्न स्थानीय तह तथा विद्यालयहरूलाई निर्देशन दिएको छ।

इकाइले २०८३ जेठ २८ गते जारी गरेको पत्रमार्फत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहायक कर्मचारी, लेखापाल तथा विद्यालय सहयोगीहरूको अवकाश उमेरसम्बन्धी विषयमा स्पष्ट निर्देशन जारी गरेको हो।

पत्रमा उल्लेख भएअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा सर्वोच्च अदालतबाट भएको आदेशका आधारमा विद्यालय कर्मचारीहरूको अवकाश उमेर ६० वर्ष कायम गरी कार्यान्वयन गर्न भनिएको छ। सर्वोच्च अदालतले विद्यालय कर्मचारीको अवकाश उमेरसम्बन्धी मुद्दामा दिएको आदेशलाई आधार मानी शिक्षा मन्त्रालयले समेत आवश्यक कार्यान्वयनका लागि मातहत निकायहरूलाई निर्देशन दिएको जनाइएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ बाराका निमित्त इकाइ प्रमुख अशोक कुमार रौनियार द्वारा हस्ताक्षरित पत्रमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहायक कर्मचारी, लेखापाल तथा विद्यालय सहयोगीहरूको अवकाश उमेर ६० वर्ष कायम गरी सोहीअनुसार कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयहरूलाई अनुरोध गरिएको छ।

इकाइले उक्त निर्णयबारे सबै स्थानीय तह तथा सामुदायिक विद्यालयलाई जानकारी गराउँदै आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जनाएको छ।

यस निर्णयसँगै बारा जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा अवधि सम्बन्धी अन्योलता अन्त्य हुने अपेक्षा गरिएको छ। विद्यालय कर्मचारीहरूले लामो समयदेखि अवकाश उमेरसम्बन्धी स्पष्ट नीतिको माग गर्दै आएका थिए।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले सर्वोच्च अदालतको आदेश तथा मन्त्रालयको निर्देशनअनुसार अवकाश उमेर ६० वर्ष कायम गर्ने निर्णयले विद्यालय कर्मचारीहरूको पेशागत सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button