
रौतहट, २८ जेठ
रौतहटको बौधीमाई नगरपालिका–७ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणको फर्सीको बिउ बरामद गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जना बौधीमाई नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारततर्फ तस्करी गर्न तयारी अवस्थामा सीमावर्ती क्षेत्रको बाँडा बंकुल टोल नजिक त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिन आइतबार राति प्रहरी पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो। बरामद अभियानका क्रममा स्थानीयवासीले विरोध जनाएपछि झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
झडपमा बौधीमाई–७ निवासी ४० वर्षीया सुदामा देवी राय, ४० वर्षीया हिरा मोतिया देवी यादव र ४५ वर्षीय जयलाल ठाकुर हजाम घाइते भएका छन्। घाइते ठाकुर बौधीमाई नगरपालिकाका कार्यपालिका सदस्य हुन्। उनको खुट्टामा गोली लागेर चोट पुगेको र हाल चन्द्र ज्योति कान्ती अस्पताल, बंकुलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई महिलाको अवस्था सामान्य रहेको बताइएको छ।
यता झडपका क्रममा प्रहरीतर्फ पनि तीन जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी वरिष्ठ हवल्दार गजेन्द्र यादव, प्रहरी सहायक हवल्दार सम्झना चौधरी तथा प्रहरी सहायक हवल्दार देवराज महतो रहेका छन्। उनीहरूको उपचारपछि पुनः ड्युटीमा फर्किएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय मौलापुरबाट थप सुरक्षा टोली पुगेर २ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ३२२ बोरा फर्सीको बिउ बरामद गरेको छ। प्रति बोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बिउ बरामद भएको हो। प्रहरीका अनुसार प्रति बोरा २८ हजार रुपैयाँका दरले मूल्यांकन गर्दा बरामद बिउको कुल मूल्य करिब ९० लाख १६ हजार रुपैयाँ पुगेको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब उपरीक्षक बसन्त गौतमको नेतृत्वमा ५४ जना प्रहरी तथा सशस्त्र प्रहरी बलका २० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रहरीले बरामद गरिएको फर्सीको बिउ भारततर्फ अवैध निकासीको तयारीमा राखिएको आशंका गर्दै घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणका लागि निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ।



