मधेशसमाचार

बसवरीया–बंकुल सीमाबाट व्यापक तस्करी, सुरक्षा निगरानीमाथि प्रश्न

कलैया , १३ असार
बारा–रौतहट सीमावर्ती क्षेत्र अन्तर्गत बसवरीया र बंकुल नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी हुन नसक्दा भारतीय माछा, कपडा, खाद्यान्न, हार्डवेयर तथा अन्य सामग्री अवैध रूपमा नेपाल भित्रिने गरेको स्थानीय स्रोतहरूको दाबी छ।
स्थानीयका अनुसार रातिको समयमा मोटरसाइकल, टेम्पो तथा पिकअप भ्यानमार्फत दैनिक रूपमा सामान ओसारपसार भइरहेको छ। सीमावर्ती क्षेत्रमा सक्रिय तस्कर समूहहरूले खुला रूपमा कारोबार सञ्चालन गर्दा राज्यलाई ठूलो राजस्व क्षति भइरहेको तथा वैध व्यवसायी प्रत्यक्ष प्रभावित बनेको गुनासो गरिएको छ।
स्थानीय स्रोतहरूले विशेषगरी भारतबाट ल्याइने माछामा ‘फर्माेलिन’ नामक घातक रसायन प्रयोग भइरहेको आरोप लगाएका छन्। भारतको आन्ध्र प्रदेशबाट विभिन्न बजार हुँदै ल्याइने उक्त माछा बसवरीया र बंकुल नाकाबाट नेपाल भित्रिने तथा बारा हुँदै हेटौँडा र काठमाडौंसम्म पुग्ने गरेको दाबी गरिएको छ।
स्थानीयवासीका अनुसार सीमाक्षेत्रमा सक्रिय समूहहरूले सुरक्षा निकायसँगको मिलेमतोमा तस्करी धन्दा सञ्चालन गरिरहेको आशंका गरिएको छ। दिनको समयमा चेकजाँच कडा देखिए पनि रातिको समयमा निगरानी कमजोर हुँदा अवैध कारोबार मौलाउँदै गएको उनीहरूको भनाइ छ। “सामान्य नागरिकलाई कडाइ गरिन्छ, तर ठूलो परिमाणको सामान सहजै पार गरिन्छ,” एक स्थानीयले गुनासो गरे।
सीमाक्षेत्रमा हुने अवैध कारोबारका कारण स्थानीय बजारमा सस्तो भारतीय सामानको प्रभाव बढ्दै गएको र नेपाली व्यवसायी प्रतिस्पर्धामा टिक्न कठिन भएको व्यवसायीहरूको भनाइ छ। उनीहरूले तस्करी नियन्त्रणमा प्रभावकारी कदम नचालिए स्थानीय व्यापार पूर्ण रूपमा प्रभावित हुने चेतावनी दिएका छन्।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार फर्माेलिनयुक्त माछा मानव स्वास्थ्यका लागि अत्यन्तै जोखिमपूर्ण हुन्छ। यस्तो रसायन प्रयोग गरिएको खाद्य सामग्री सेवन गर्दा पेट, कलेजो, मिर्गौला तथा स्नायु प्रणालीमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूले बताएका छन्। दीर्घकालीन रूपमा यसले क्यान्सरजस्ता जटिल रोग निम्त्याउने जोखिमसमेत रहने उनीहरूको भनाइ छ।
स्थानीय नागरिक तथा सरोकारवालाहरूले बसवरीया–बंकुल नाकाबाट भइरहेको तस्करीबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले सीमा क्षेत्रमा विशेष निगरानी टोली परिचालन गर्न, रात्री गस्ती प्रभावकारी बनाउन तथा सुरक्षा निकायको भूमिकामाथि समेत छानबिन गर्न सरकारसँग माग गरेका छन्।
सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायले ठोस कदम नचाले अवस्था थप जटिल बन्न सक्ने भन्दै स्थानीयहरूले तत्काल प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button