मधेशसमाचार

पिकअप कै माध्यमबाट बाराका नाकाबाट भारतीय माछा तस्करी; प्रहरी–तस्कर मिलेमतोमा बिचौलिया सक्रिय

बारा, ०४ मंसिर

बाराको ग्रामिण नाकामा पर्ने बेलदारी नाका हुँदै पिकअप भ्यान मार्फत भारतीय माछा अबैध रूपमा भित्रिने क्रम बढ्दै गएको स्थानीय स्रोतहरूले बताएका छन्। स्रोतका अनुसार आर्थिक प्रलोभनका कारण प्रहरी पक्षबाट ‘ग्रीन सिग्नल’ मिल्दै जाँदा तस्करी निर्बाध रूपमा सञ्चालन भइरहेको छ।

बिचौलिया पत्रकार मार्फत मिलेमतोको आरोप

स्थानीयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आर्थिक लाभ पुर्‍याउन तथा तस्करी ढाकछोप गर्न केही बिचौलिया पत्रकार समेत सक्रिय छन्। उनीहरूकै मिलेमतोमा बेलदारी नाका हुँदै तस्करीको लाइन सहजै खुल्ने गरेको दाबी गरिएको छ। माछा सँगै फुल र चकलेटको तस्करी पनि तीव्र रूपमा बढेको बताइन्छ।

मटिअर्वामा कडाइ, बेलदारीमा कमजोरी?

बाराको सदरमुकाम नजिकको मटिअर्वा नाकामा प्रहरीले सर्वसाधारणलाई कडाइ देखाउन खोजे पनि नजिकैको बेलदारी नाकामा भने तस्करी खुलेआम भइरहेको स्थानीयको भनाइ छ।
नदी छेउ मै बनाइएका वैकल्पिक बाटो मार्फत रातदिन भारतीय माछा नेपाल भित्रिने गरे पनि दुवै सुरक्षा निकाय मौन रहेको आरोप लगाइएको छ।

प्रहरी स्रोतको दाबी अनुसार, माथिल्लो निकायसम्म “सेन्डिगेट मिलिसकेपछि” तल्लो तहका सुरक्षाकर्मीले तस्करी नियन्त्रणमा कडाइ गर्न नसक्ने अवस्था बनेको छ।

स्थानीय व्यापारमा नकारात्मक असर

अवैध रूपमा भारतीय माछा भित्रिन थालेसँगै नेपाली माछाको मूल्यमा गिरावट आउने संकेत देखिन थालेको व्यापारीहरू बताउँछन्।
एक स्थानीय माछा व्यापारीले भने,
“बारा माछा उत्पादनका लागि प्रसिद्ध भए पनि प्रहरीले बेवास्ता गर्दा हामी व्यवसायी घाटामा परेका छौँ। केही बिचौलियाले पत्रकारको आवरणमा तस्करी मिलाउने काम गरेपछि समस्या झनै बढेको छ।”

स्थानीयले तस्करहरु खुल्याम रूपमा तस्करी सञ्चालन गरिरहेको र यसका पछाडि उच्च तहसम्मको मिलेमतो हुन सक्ने दाबी गरेका छन्।

फुल र चकलेट तस्करी पनि तीव्र

माछासँगै फुल तथा विभिन्न प्रकारका चकलेटको तस्करी बढ्दो क्रममा रहेको स्थानीयको भनाइ छ। बेलदारी नाकाको सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखको ध्यानाकर्षण गराइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button