मधेशसमाचार

बारामा ‘राष्ट्रिय प्रगतिशील अभियान’को औपचारिक घोषणा, विकास र सुशासन लक्षित कार्यक्रम अघि सार्ने

बारा , ०४ मँसिर

बारा जिल्लामा समसामयिक राजनीतिक, सामाजिक तथा विकासका मुद्दाहरूलाई संगठित ढंगले अघि बढाउने उद्देश्यसहित ‘राष्ट्रिय प्रगतिशील अभियान, बारा’ औपचारिक रूपमा घोषणा गरिएको छ। कलैयामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको शुभारम्भ पूर्व संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहाको संयोजकत्वमा गरिएको हो।

घोषणा कार्यक्रममा सहभागी हुँदै नेकपा माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्माले पार्टी नेकपामा समाहित भएपछि आफूहरूले अभियानलाई थप गति दिएको बताउनुभयो। स्थानीय राजनीतिक नेतृत्व, बुद्धिजिवी, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति कार्यक्रममा रहेको थियो।

संयोजक कुश्वाहाले मुलुकमा बढ्दो बेरोजगारी, पिछडिएका समुदायका चुनौती, शिक्षा–स्वास्थ्यमा असमान पहुँच, तथा सडकमात्रिक विकास जस्ता विषयमा अभियानले सक्रिय भूमिका निर्वाह गर्ने बताए। “जनताको आवाजलाई शक्तिमा रूपान्तरण गर्न संगठित र प्रगतिशील अभियान अपरिहार्य छ,” कुश्वाहाले भने, “बारालाई समृद्ध र सुशासित जिल्लाका रूपमा स्थापित गर्न जनतामैत्री कार्यक्रम निरन्तर अघि बढाइनेछ।”

अभियानले सुगम सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, स्थानीय विकास, महिला–युवाको सशक्त सहभागिता, सामाजिक न्याय तथा सद्भाव प्रवर्द्धनलाई प्रमुख लक्ष्य बनाएको छ। वडास्तरदेखि जिल्लास्तरसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम, छलफल, प्रशिक्षण तथा अभियान विस्तार गरिने जानकारी दिइएको छ।

माओवादीका पूर्व नेता हसनजान अन्सारीले माओवादी इतिहास र पहिचान पार्टी एकतालगायतका कारण मेटिँदै गएको आरोप लगाउँदै, “माओवादी सहिदका सपना पूरा गर्न अब यो अभियानबाटै अगाडि बढिरहेका छौँ,” भन्दै अभियानप्रति आफ्नो प्रतिबद्धता जनाए।

अभियान घोषणा कार्यक्रममा रन्जित पटेल, हसनजान अन्सारी, मगनी मुखिया बिन, शुभनारायण पटेल, भगवान गिरि, शिवजी महतो नुनिया, लालबाबु कलवार, प्रहलाद सहनी, बुलेट पटेल, बृजकिशोर यादवलगायत स्थानीय नेताहरूको सहभागिता रहेको थियो।

स्थानीयवासी तथा सहभागीहरूले नयाँ अभियानले बाराको विकास, सुशासन र सामाजिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button