
बारा, ०५ जेठ
सिम्रौनगढ नगरपालिका तथा बारागढी गाउँपालिका ले राष्ट्रिय आर्थिक गणना–२०८२ सफल बनाउन उद्योगी, व्यवसायी तथा आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। दुवै स्थानीय तहले छुट्टाछुट्टै अनुरोध पत्र सार्वजनिक गर्दै आर्थिक गणना राष्ट्रको वास्तविक आर्थिक अवस्थाको चित्र प्रस्तुत गर्ने महत्वपूर्ण आधार भएकाले आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न अपिल गरेका हुन्।
राष्ट्रिय तथ्याङ्क कार्यालय ले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत देशभर स्थलगत तथ्याङ्क संकलन कार्य भइरहेको जनाइएको छ। मिति २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय, बाराबाट गणक तथा सुपरिवेक्षकहरू परिचालन गरी तथ्याङ्क संकलनको कार्य भइरहेको बताइएको छ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरा तथा बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्र द्वारा हस्ताक्षरित अनुरोध पत्रमा औपचारिक तथा अनौपचारिक आर्थिक क्रियाकलाप सञ्चालन गर्ने सम्पूर्ण प्रतिष्ठान तथा व्यवसायलाई गणनामा सहभागी हुन आग्रह गरिएको छ।
अनुरोध पत्रअनुसार कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, पानी आपूर्ति, ढल व्यवस्थापन, निर्माण, थोक तथा खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मत, यातायात, होटल तथा भोजन सेवा, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा सेवा, घरजग्गा कारोबार, शिक्षा, स्वास्थ्य, सामाजिक कार्य, कला, मनोरञ्जन तथा अन्य सेवा क्षेत्रका व्यवसाय तथा प्रतिष्ठानहरू आर्थिक गणनामा समावेश गरिने जनाइएको छ।
स्थानीय तहहरूले आर्थिक गणनाबाट देशको आर्थिक संरचना, उत्पादन, रोजगारी, लगानी तथा व्यवसायिक अवस्थाबारे यथार्थ तथ्याङ्क प्राप्त हुने बताएका छन्। यसबाट उद्योग तथा व्यवसायमैत्री नीति निर्माण, विकास योजना तर्जुमा, आर्थिक सम्भावनाको पहिचान, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधिको प्रभावकारी विश्लेषणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
त्यस्तै, आर्थिक गणनाले देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न आर्थिक क्षेत्रको योगदान पहिचान गर्न तथा रोजगारीको वास्तविक अवस्था चित्रण गर्न मद्दत पुग्ने उल्लेख गरिएको छ। लगानीकर्तालाई सही तथ्याङ्क उपलब्ध गराएर आर्थिक क्षेत्रलाई थप विश्वसनीय र व्यवस्थित बनाउन समेत आर्थिक गणना उपयोगी हुने जनाइएको छ।
अनुरोध पत्रमा संकलित सम्पूर्ण विवरण गोप्य रहने र तथ्याङ्क ऐन–२०७९ अनुसार केवल तथ्याङ्कीय प्रयोजनका लागि मात्र सामूहिक रूपमा प्रयोग गरिने स्पष्ट पारिएको छ। यसले उद्योगी तथा व्यवसायीलाई निडर भएर सही विवरण उपलब्ध गराउन सहज वातावरण निर्माण गर्ने स्थानीय तहहरूको विश्वास रहेको छ।
सिम्रौनगढ नगरपालिका र बारागढी गाउँपालिकाले राष्ट्रिय आर्थिक गणना–२०८२ सफल बनाउन स्थानीय उद्योगी, व्यापारी, सेवा प्रदायक, व्यवसायी तथा सम्पूर्ण सरोकारवालाबाट सक्रिय सहयोग, समन्वय र सहभागिताको अपेक्षा गरेका छन्।



