
साजिर मन्सूर
बारा, ०५ जेठ
कलैया उपमहानगरपालिका को आयोजनामा सम्पन्न मेयर–उपमेयर कप विद्यालयस्तरीय खो–खो प्रतियोगिताको उपाधि छात्रातर्फ श्री ३ चन्द्र माध्यमिक विद्यालय तथा छात्रतर्फ ईन्टरनेशनल सिम्बायोसिस बोर्डिङ स्कूल ले जितेका छन्।
छात्रातर्फको फाइनल खेलमा श्री ३ चन्द्र माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै मनहर्वा टोलीलाई पराजित गरी उपाधि हात पारेको हो। त्यसैगरी छात्रतर्फ ईन्टरनेशनल सिम्बायोसिस बोर्डिङ स्कूलले प्रतिस्पर्धी टोली श्री दुर्गा नमुना विद्यालय बरेवा लाई हराउँदै ट्रफी आफ्नो पोल्टामा पार्न सफल भयो।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि तथा आयोजक पक्षले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, विद्यार्थीमा अनुशासन तथा टीम भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
प्रतियोगिताभर विद्यार्थी, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप रोमाञ्चक बनेको थियो। प्रतियोगितामा उपमहानगर क्षेत्रभित्रका विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडीको उपाधि रेयाज मन्सूर तथा छात्रातर्फ नन्दनी सरार्फ ले प्राप्त गरेका छन्। त्यसैगरी बेस्ट चेजरतर्फ गौरव कुश्वाहा र आरती कुमारी साह घोषित भएका छन्।
नगर खेलकुद विकास समितिका अध्यक्ष एम समिउल्लाह को अध्यक्षता तथा रौशन प्रविण को प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बिनय सिंह, वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री, वडा नम्बर २ का अध्यक्ष राजेश महतो लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर खेलकुद विकास समितिका महासचिव शैलेश महतो, पूर्व महासचिव राजेश्वर गौतम, सदस्यहरू शैलेस श्रेष्ठ, आमोद गुप्ता, दिनदयाल साह, श्री ३ चन्द्र माविका प्रधानाध्यापक रमेश कुश्वाहा, कबड्डी खेलका पूर्व राष्ट्रिय प्रशिक्षक तसरुदिन मन्सूर, श्री नेरा मावि सिसहनिया का प्रधानाध्यापक दिनेश प्रसाद जयस्वार, खेलप्रेमी बिनोद तुलाधर, ईन्टरनेशनल सिम्बायोसिसका प्रधानाध्यापक वसन्त घिमिरे तथा शिक्षक सुबाश मेहता लगायतको उपस्थिति रहेको थियो।समापन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी साजिर मन्सूर ले गर्नुभएको थियो।



