मधेशसमाचार

क्रियाशील सदस्यता वितरण समयमै सम्पन्न गर्न बारामा कांग्रेसको निर्देशन

कलैया , ०६जेठ

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराको बैठकले क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ। कलैया स्थित बी.पी. स्मृति भवनमा जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको हो।

बैठकमा जिल्ला पदाधिकारी, जिल्ला सदस्य, आमन्त्रित सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापतिहरू, पालिका सभापतिहरूका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरूको उपस्थिति रहेको जनाइएको छ।

बैठकले नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम निर्धारित समयभित्र सम्पन्न गर्न मातहतका सबै निकायलाई सक्रिय रूपमा लाग्न निर्देशन दिएको छ। साथै, सदस्यता फाराम भर्ने र बुझाउने प्रक्रियामा देखिएको ढिलाइ तथा अन्योलता अन्त्य गर्न आवश्यक समन्वय र व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको अद्यावधिक कार्यलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन विशेष जोड दिएको छ। सदस्यता प्रक्रियालाई लिएर नेता तथा कार्यकर्ताबीच अनावश्यक राजनीतिक शंका र भ्रम उत्पन्न हुन नदिन समेत बैठकले आग्रह गरेको छ।

यसैबीच, बैठकले आगामी जेठ १३ गते बुधबार बिहान ८ बजे पुनः बी.पी. स्मृति भवन, कलैयामै जिल्ला कार्यसमितिको अर्को बैठक बस्ने निर्णय गरेको छ।

उक्त जानकारी कार्यवाहक सचिव अभिका प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button