मधेशसमाचार

नेपाल पत्रकार महासंघमा सदस्यता नवीकरणमा विभेद भएको भन्दै प्रेस जनमत संघको ज्ञापनपत्र

 

काठमाडौं, ०९ भाद्र

नेपाल पत्रकार महासंघमा सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने क्रममा विभेद भएको भन्दै प्रेस जनमत संघले महासंघ केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको छ।

संघले बुझाएको ज्ञापनपत्रमा महासंघ नेपालभरिका सम्पूर्ण पत्रकारहरूको साझा संगठन भएकाले निष्पक्ष र सबै पत्रकारलाई समान अवसर दिने चरित्र कायम राख्न आग्रह गरिएको छ। तर पछिल्लो समय नेतृत्वसँग आस्था राख्ने पत्रकारहरूको सदस्यता सहज रूपमा नवीकरण हुने र फरक आस्था राख्नेहरूको सदस्यता नवीकरण नगर्ने वा नयाँ सदस्यता नै अस्वीकृत गर्ने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाइएको छ।

प्रेस जनमत संघले “शुद्धिकरण” को नाममा व्यक्तिगत रिसइवी साध्ने र फरक–फरक स्थानमा फरक–फरक मापदण्ड प्रयोग गर्ने कार्य अन्यायपूर्ण भएको ठहर गर्दै तत्काल सच्याउन माग गरेको छ। विशेषगरी काठमाडौँमा एक किसिमको मापदण्ड र तराई–मधेशका जिल्लामा मनपरी मापदण्ड लागू गरिएको भन्दै संघले ध्यानाकर्षण गराएको छ।

“गत निर्वाचनको समयमा शुद्धिकरणका नाममा भएको अन्यायलाई तत्काल सच्याइयोस्,” संघले ज्ञापनपत्रमार्फत जोडदार माग गरेको छ। साथै, महासंघलाई साँच्चिकै साझा संगठनका रूपमा कायम राखी फरक आस्था राख्ने पत्रकारहरूलाई पनि समान अवसर र अधिकार सुनिश्चित गर्न नेतृत्वले आवश्यक कदम चाल्नुपर्ने संघको भनाइ छ।

प्रेस जनमत संघले महासंघको साझा चरित्रको पक्षपाती भएको बताउँदै, महासंघ नेतृत्वले पनि खुला मनले त्यसलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरेको छ।

संघका अध्यक्ष अवधेश कुमार झाले आइतबार काठमाडौँको संचारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष निर्मला शर्मालाई उक्त ज्ञापन पत्र हस्तान्तरण गर्नुभयो। यस अवसरमा संघका सहअध्यक्ष रामनारायण विश्वास र केन्द्रीय सदस्य जितेन्द्र खड्गा पनि सहभागी हुनुहुन्थ्यो। महासंघतर्फबाट केन्द्रीय उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दहाल, सचिव सोनी शर्मा, कोषाध्यक्ष रामकृष्ण अधिकारीसहित अन्य केन्द्रीय पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button